मन्त्री फिर्ता बोलाउने एस पार्टीको निर्णय तत्कालका लागि कार्यान्वयन नहुने

२३ जेठ, काठमाडौं । सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादी पार्टीको निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ।

एकीकृत समाजवादीको आइतबार बसेको स्थायी कमिटी बैठकले कानुनमन्त्री गोविन्द बन्दीबाहेक सरकारमा प्रतिनिधित्व गर्ने पाँच जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

frontline

समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री बन्नेहरुको सूची दिएका थिए। नेपालले मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङ र शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिस गरेका थिए।

सोहीबमोजिम आज मन्त्रीहरुको सपथ हुने भनिएको थियो। तर प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अघि बढन दिएनन्।

पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेसँगै समाजवादीका तर्फबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो पार्टीका निर्णय कार्यान्वयन नगरिदिन आग्रह गरेका थिए।

प्रधानमन्त्री देउवाले समाजवादीका अध्यक्ष नेपाललाई मन्त्री फर्ने भए सत्ता गठबन्धनको बैठकबाटै निर्णय गरेर अरु पनि फेरौं नत्र एउटामात्र पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउँदा नकरात्मक सन्देश जाने बताएका थिए।

प्रधानमन्त्रीको उक्त कुराप्रति प्रचण्डले समर्थन जनाएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल अफ्ठ्यारोमा परेका हुन्। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटै स्वरमा समाजवादीका मन्त्री फिर्ता नहुने भनेपछि एकीकृत समाजवादीको निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने पार्टीको निर्णय जसरी पनि कार्यान्वय हुने दाबी गरे। ‘मन्त्री फेर्ने निर्णय पार्टीको हो। त्यो जसरी पनि कार्यान्वयन हुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here