मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु
काठमाण्डु । सरकारले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहिबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन् ।
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका थप निर्णयः
१ . बैठकले बुर्तिवाङ, पौदी, अमराई, तम्घास, सम्धीखर्क, गोरुसिंगेको १३२ केभि प्रसारण लाइन आयोजना अन्र्तगत प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ ९ मिटर बायाँ ९ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने नीजि जग्गा लगायतका अन्य संरचनाहरूलाई क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने ।
२ .विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक पदमा नेपालको तर्फबाट बाणगंगा कपिलवस्तु निवासी डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने ।
३ .हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने ।
४ .राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्प रमण वाग्ले र सलोनी प्रधान सिंहलाई नियुक्त गर्ने ।
५ .नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने ।
प्रतिक्रिया दिनुहोस्