मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले २० लाखको व्यक्तिगत लगानीमा सडक बनाइदिने
सारांश
- मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले व्यक्तिगत लगानीमा सडक ढलान गर्ने भएका छन्।
- कर्मचोकदेखि वडा कार्यालय जाने सडक स्ल्याब ढलानका लागि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ।
- अध्यक्ष कालाखेतीले जेनजी आन्दोलनपछि बजेट कटौती हुँदा निजी खर्चमै सडक बनाउन लागेका हुन्।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो व्यक्तिगत लगानीमा गाउँपालिका-२ स्थित कर्मचोकदेखि वडा कार्यालय जाने सडक स्ल्याब ढलान गरिदिने भएका छन्।
६ मिटर चौडाई र २०० मिटर लम्बाई रहेको उक्त सडक स्ल्याब ढलानका लागि अध्यक्ष कालाखेतीले शनिबार प्राविधिक जाँच गरी लागत स्टिमेट तयार गराएका छन्। स्टिमेट अनुसार सो सडक स्ल्याब ढलान गराउन २० लाख रुपैयाँ खर्च हुनेछ।
शनिबार मनहरी २ कर्मचोकमा आयोजित एक औपचारिक कार्यक्रममा अध्यक्ष कालाखेतीले अबको केही दिनभित्रै सडक स्ल्याब ढलानको काम सुरु गरिने जानकारी दिए। जेनजी आन्दोलनपछि गाउँपालिकामा भएको भौतिक क्षतिका कारण बजेट कटौती हुँदा केही विकासे आयोजनाहरू समेत कटौतीमा परेपछि स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै आफू र आफ्नो पहलमा निजी खर्चमै सडक स्ल्याब ढलान गराउन लागिएको अध्यक्ष कालाखेतीले बताए।
आफू जनप्रतिनिधि भएर आएपछि जनताको हरेक समस्यामा साथमै रहेको बताउँदै उनले सरकारी सेवा सुविधाको सवारी सुविधा नलिनुका साथै प्राप्त तलबभत्ता पनि जनतामै लगानी गरिएको जानकारी दिए। उनले आफ्नो तलबभत्ताको रकमबाट मनहरी ५ मा एक विपन्नको घर बनाइदिएका छन् भने ६ नम्बर वडामा पनि अर्को घर निर्माणको काम गरिरहेका छन्। विपन्न बालबालिकालाई छात्रवृत्ति तथा पोसाकमा पनि अध्यक्ष कालाखेतीले आफ्नो तलबभत्ताको रकम खर्च गर्दै आएका छन्।






प्रतिक्रिया दिनुहोस्