भारतमा कोरोनाको तेस्रो लहर आक्रामक बन्दै, दैनिक संक्रमितको संख्या साढे २ लाख

फाइल तस्बिर

२९ पुस, काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ का संक्रमित लगातार बढ्न थालेका छन् ।

त्यहाँ कोरोना भाइरसको तेस्रो लहर आक्रामक बन्दै गएपछि दैनिक संक्रमितको संख्या झण्डै साढे २ लाख पुग्न लागेको छ ।

frontline

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४१७ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या मंगलबारको तुलनामा २७ प्रतिशतले बढी हो । योसँगै भारतमा कोरोनाको कहर गत मे महिनाको अवस्थामा पुगेको छ ।

भारतमा १० दिनको अवधिमा कोरोना संक्रमितको संख्या ६ गुणाले बढेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८४ हजार ८२५ जना निको भएको र ३८० जनाको मृत्यु भएको पनि समाचारमा उल्लेख छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या बढेर ११ लाख १७ हजार ५३१ पुगेको छ भने दैनिक पोजिटिभिटी दर १३.११ प्रतिशत पुगेको छ ।

त्यस्तै, कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ५ हजार ४८८ पुगेको छ ।

ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै अर्थात् १३६७ रहेका छन् । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनबाट हालसम्म ७९२ जना संक्रमित भएका छन् ।

यसबाहेक, दिल्लीमा ५४९, कर्नाटकमा ४७९, पश्चिम बंगालमा २९४ र उत्तर प्रदेशमा २७५ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

यसैबीच, तेस्रो लहर आक्रामक बन्दै गइरहेका बेला औषधि निर्माता कम्पनी भारत बायोटेकले बुधबार आफ्नो खोपको बुस्टर डोजले ओमिक्रोन र डेल्टा भेरियन्टविरुद्ध काम गर्ने बताएको छ ।

दोस्रो डोज लगाएको ६ महिनापछि कोभ्याक्सिनको बुस्टर डोज लगाउँदा दुवै भेरियन्टविरुद्ध काम गर्ने इमोरी विश्वविद्यालयको अध्ययनले देखाएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here