भारतमा एक हप्ताको अवधिमा ५ गुणाले बढे कोरोना संक्रमित
१९ पुस, काठमाडौं । भारतमा एक हप्ताको अवधिमा कोभिड-१९ का संक्रमित झण्डै ५ गुणाले बढेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए ।
तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट १२३ जनाको मृत्यु भएको भने १० हजार ८४६ जना संक्रमण मुक्त भएका छन् ।
यसैबीच, भारतमा तीव्र गतिमा फैलिइरहेको नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या १७ सय १० पुगेको छ ।
हालसम्म २३ राज्यमा फेला परेको ओमिक्रोनबाट महाराष्ट्र, दिल्ली र केरल सबैभन्दा बढी प्रभावित बनेका छन् ।
ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा छन् । त्यहाँ सोमबारसम्म ५१० जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
ओमिक्रोनका संक्रमित धेरै रहेको सूचीमा दोस्रो स्थानमा रहेको दिल्लीमा आजसम्म ३५१ जनामा यो भेरियन्ट पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
त्यस्तै, केरलामा १५६, गुजरातमा १३५, तमिलनाडुमा १२१ र राजस्थानमा १२० जनामा ओमिक्रोन देखा परिसकेको छ ।
कर्नाटकमा सोमबार थप १० जनामा ओमिक्रोन देखिएसँगै कुल संक्रमितको संख्या ७६ पुगेको छ ।
ओमिक्रोन फैलिएका अन्य भारतीय राज्यमा हरियाणा (६३), ओडिसा (३७), पश्चिम बंगाल (२०), आन्ध्र प्रदेश (१७), मध्य प्रदेश (९), उत्तर प्रदेश (८), उत्तराखण्ड (८), चन्डीगढ (३), जम्मू-कश्मीर (३) र अन्डामान एण्ड निकोबार टापू (२) रहेका छन् ।
हालसम्म गोवा, हिमाचल प्रदेश, लद्दाख, मनिपुर र पञ्जाबमा १-१ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको द मिन्टले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्