भारतमा एक दिनमा २० हजार बढी नयाँ संक्रमित
१४ साउन, नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ संक्रमित भएका हुन् ।
संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ ।
तीमध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांकमा देखिएको छ ।
पछिल्लो समय भारतमा दैनिक नयाँ संक्रमितहरूको संख्या र सक्रिय संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ ।
भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण ४४ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ ।
संक्रमणमुक्त भएकाहरूको प्रतिशत ९८.४८ रहेको छ । पछिल्लो एक दिनमा २० हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्