भारतबाट आउनेमध्ये अधिकांशमा कोरोना
११ साउन, नेपालगन्ज । भारतबाट आउनेमध्ये अधिकांशमा कोरोना पुष्टि हुने गरेको छ। जमुनाहा नाकामा जेठ महिनामा १५ जना, असारमा ५९ र साउन महिनायता ३४ जना गरी १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हेल्थ डेस्कको ल्याब असिस्टेन्ट यशोदा चन्दले जानकारी दिइन्।
बुधबार पनि नेपालगन्जको जमुनाहा नाकास्थित हेल्थ डेस्कमा एन्टिजेनबाट परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बाँकेका एक जना थिए । हेल्थ डेस्कमा भारतबाट आउने व्यक्तिमा दिनहुँ कोरोना संक्रमण पुष्टि भइरहेको देखिन्छ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा बुधबार स्वाब परीक्षण गरेका १६ जनामध्ये २ जनामा संक्रमण पुष्टि भयो।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लामा ५७ जना मात्र सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये सबै होम आइसोलेसनमा बसेका छन् । अस्पतालमा कुनै पनि संक्रमितलाई भर्ना गरिएको छैन।
यो वर्ष कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । जिल्लामा कूल २१ हजार एक सय ५४ जना संक्रमित भएकोमा २० हजार सात सय ४३ जना निको भइसकेका छन् । कोरोनाबाट अहिलेसम्म बाँकेमा तीन सय ५४ जनाको मृत्यु भएको छ।
संक्रमण पुष्टि भएका अधिकांशमा सामान्य लक्षण मात्र देखिने भएकाले सुरक्षाका विधि अपनाउँदै घरमै आइसोलेसनमा बस्न सुझाव दिने गरेको बताइन्।
प्रतिक्रिया दिनुहोस्