भारत लगेर महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान

कुमार तामाङ र उर्पाले एक महिलालाई इराकमा मासिक ४५ हजार रुपैयाँमा घरेलु कामदारको रूपमा पठाउने भन्दै प्रलोभन देखाएर बेच्न खोजेको आरोप छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- एक महिलालाई भारत लगेर बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा तामाङ कारागार चलान भएका छन्।
- इराकमा घरेलु कामदारको रूपमा पठाउने प्रलोभन देखाएर उर्पाले ती महिलालाई भारतमा बेच्न खोजेका थिए ।
१३ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा इराक पठाउने भन्दै भारत लगेर बेच्न खोजेको आरोपमा पक्राउ परेका एक व्यक्ति कारागार चलान भएका छन् ।
कारागार चलान हुनेमा रसुवाको नौकुण्ड गाउँपालिका–६ का ४२ वर्षीय उर्पा तामाङ भनिने उर्पा लोप्चन छन् ।
कुमार तामाङ र उर्पाले एक महिलालाई इराकमा मासिक ४५ हजार रुपैयाँमा घरेलु कामदारको रूपमा पठाउने भन्दै प्रलोभन देखाएर बेच्न खोजेको आरोप छ ।
त्यसका लागि काठमाडौंमा मेडिकल समेत गराएर २५ दिनसम्म बालाजुको एक होटलमा राखेको बताइएको छ ।
त्यसपछि १८ जेठ २०८० मा काठमाडौंबाट भारत लैजाने क्रममा झापाको काँकडभिट्टा नाकाबाट साना हातहरू नामक संस्थाले ती महिलाको उद्धार गरेको थियो ।
पीडित महिलाले २१ जेठ २०८० मा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रतिवादी कुमारलाई पक्राउ गरिएको थियो ।
उनी अहिले पनि पुर्पक्षमा कारागारमै छन् । उर्पा भने फरार हुँदै आएका थिए । ८ जेठ २०८२ मा पक्राउ परेका उनलाई अदालत उपस्थित गराइएकोमा पुर्पक्षका लागि कारागार चलानको आदेश आएको ब्यूरोका एसपी तथा प्रवक्ता नरेन्द्र कुँवरले बताए ।
उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्