बौद्धिक अपांगता भएका बालबालिकालाई उपयोगीसिद्ध नमुना श्रोत कक्षा
मातृका सुवेदी ।
फ्रन्टलाइन खबर, काठमाडौँ । बौद्धिक अपांगता, जसलाई समाजले जीवनयापनमा कमजोर ठान्ने गरेको वा खासै नपत्याएको अवस्था विद्यमान छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिले पढ्न, खेल्न, काम गर्न, सिप सिक्न वा केही गर्न सक्दैनन् भन्ने सोचका कारण अनुकुल शिक्षण सिकाइको व्यवस्था नगरिँदा नेपालमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको ठुलो हिस्सा विद्यालय शिक्षाबाट बन्चित छन् । बौद्धिक अपांगताका अभिभावक महासंघ नेपालको प्रमुख सक्रियतामा विभिन्न संघ संस्थाहरु एवम् स्थानिय पालिकाहरुको समन्वयमा नमुना श्रोत कक्षा संचालन भएपछि भने केही परिवर्तनको शुरुवात भएको छ ।
सिन्धुलीको मुल्कोटबाट केही माथि गाउँमा बस्ने हिरादेवीले ७ वर्षको उमेरमा विद्यालय टेकिन् । बौद्धिक अपाङ्गता भएकी हिरादेवीमा विद्यालय जान थालेसंगै सुखद परिवर्तन आएको छ । पहिले केही नबोल्ने, विद्यालय जानै नमान्ने, केही काम गर्न नजान्ने उनि अहिले हाँस्ने, खेल्ने, पढ्ने, गफ गर्ने जस्ता काम सामान्य बालबालिकाले झैँ गर्न थालेकी छिन् । विद्यालय जान थालेपछि छोरीमा आएको सकारात्मक परिवर्तनप्रति उनकी आमा निकै सन्तुष्ट छिन् । हिरादेवी जस्तै विद्यालय जाने अवसर पाएसंगै बेलका नगरपालिका उदयपुरका १७ वर्षिय मोहनको आनीबानी एवम् व्यवहारमा आएको सकारात्मक परिवर्तनप्रति पनि उनका आमाबुबा खुशी छन् ।
बौद्धिक अपाङ्गता भएका बेलका नगरपालिकाका निशा र रोशिकाले पनि विद्यालयमा संचालित श्रोत कक्षामा नियमित आउन थालेपछि धेरै कुरा सिक्न र जान्न पाए । पहिले विद्यालय आउनै नमान्ने उनिहरु अचेल खुशी र रमाइलो मान्दै आउँछन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका, मुलकोट स्थित पशुपती आधारभुत विद्यालय र बेलका नगरपालिका, जहडा, उदयपुरमा रहेको जनता मावीमा विगत २ वर्षदेखि स्विडिस पोस्ट कोड फाउण्डेसन र माईराइट नेपालको सहयोग एवम् स्थानीय तहको सहकार्यमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालद्धारा श्रोत कक्षा संचालन भएसंगै बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षण सिकाइ, दैनिक आनिबानी, सामाजिक व्यवहार र जिवनउपयोगी सिपमा सकारात्मक परिवर्तन आएको छ ।
बौद्धिक अपाङ्गता भएकाहरु पढ्न, सिक्न, जान्न र अपनाउन त सक्छन् तर त्यसका लागि बौद्धिक अपाङ्गतामैत्री सिकाई वातावरण र दक्ष जनशक्तीको जरुरत पर्दछ । यि दुबै विद्यालयहरुमा २ २ जना तालिम प्राप्त श्रोत शिक्षिका, १ १ जना हेरचाह गर्ने व्यक्ति साथै घर टाढा भएका बालबालिकालाई लक्षित गर्दै अटोको समेत व्यवस्था गरिएको छ भने विद्यालयमै खाजाको प्रबन्ध पनि मिलाइएको छ । यसर्थ यि विद्यालयहरुमा बौद्धिक अपाङ्गतामैत्री सिकाई वातावरण भएकै कारण बालबालिकाहरुले धेरै कुरा सिक्न पाएका छन् ।
नमुना श्रोत कक्षामा बौद्धिक अपांगता भएका बालबालिकाले शारिरिक व्यायाम गर्ने, विभिन्न खेलहरु खेल्ने, पढ्ने्, लेख्ने, गित गाउने, नाच्ने जस्ता सिकाई क्रियाकलापहरुमा भाग लिने गर्छन । विद्यालयमा पुरै समय खुसी र रमाइलो मानेरै बिताउँछन् उनिहरु ।
यि विद्यालयहरुमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी लक्षित श्रोत कक्षा संचालनमा ल्याउन बौद्धिक अपाङ्गताका अभिभावक महासंघ अन्तर्गतका जिल्ला समितिहरु, विद्यालय व्यवस्थापन समिति एवम् स्थानीय सरकारले महत्वपुर्ण समन्वय र सहकार्य गर्दै आएका छन् ।
संविधानतः बौद्धिक अपाङ्गता भएकाहरुको शिक्षा सम्बन्धि हक सुनिश्चित भएतापनि कार्यान्वयन तहको अवस्था भने सन्तोषजनक देखिँदैन । यद्यपी सिन्धुली र उदयपुरका यी विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी लक्षित श्रोत कक्षा संचालन भएसंगै केही आशाको किरण झुल्किएको छ ।
नागरिकको नजिकको सरकार स्थानिय सरकार हो । यि विद्यालयहरुमा श्रोत कक्षा संचालन एवम् व्यवस्थापनमा सुनकोशी गाउँपालिका, सिन्धुली र बेलका नगरपालिका, उदयपुरले निरन्तर सहयोग उपलब्ध गराउँदै आएका छन् । साथै आगामी दिनमा पनि यसको निरन्तरता दिने योजना पालिकाहरुको छ ।
बेलका नगरपालिकाकी उपमेयर जिरा राई नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा रहेको र त्यसमा पनि सबैको पहुँचमा शिक्षालाई अभियानकै रुपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्छिन । जनता माविमा संचालित श्रोत कक्षाको निरन्तरताको लागि नगरले आवश्यकिय सहयोग सधैँ गर्ने पनि उनको भनाई छ । यस्तै सुनकोशी गाउँपालिकाले पनि श्रोत कक्षा संचालन र यसको निरन्तरताको लागि पालिका सदैव साथ रहने प्रतिबद्धता जनाएको छ ।
मुलकोट स्थित पशुपति आधारभुत विद्यालय र बेलका स्थित जनता माविका प्रधानाध्यापकद्धय निर्मला कुमारी श्रेष्ठ र बेल कुमारी अधिकारी (आचार्य) आफ्नो विद्यालयमा नमुना श्रोत कक्षा संचालन गर्न पाउँदा निकै आभारी छन् । साथै उनिहरु आगामी दिनमा यसको निरन्तरताको अपेक्षा समेत राख्छन् ।
कोभिड महामारीका कारण श्रोत कक्षा संचालनको शुरुवाती चरण निकै कठिन थियो । तर विद्यालय, आम अभिभावक, स्थानीय पालिका, स्थानीय स्तरमा संचालित विभिन्न संस्था र बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको संयुक्त प्रयास एवम् निरन्तरको सहकार्यले गर्दा लक्ष्य पुरा हुने दिशामा अघि बढेको छ । अन्य पालिकाहरुले पनि यही मोडेलमा श्रोत कक्षा संचालनका लागि अनुरोध गरिरहँदा नमूना श्रोत कक्षाको अवधारणा तयार गर्ने बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेत कार्यक्रमले सफलता हाँसिल गरेको बताउँछन् ।
सिन्धुली र उदयपुरका यि विद्यालयले केही बालबालिकाहरुको जीवन बदल्न सफल अभ्यास गरिरहेका छन् । तर भौगोलिक दुरीका कारण सबै बालबालिका विद्यालयको पहुँचमा छैनन् । यदी देशभरका विद्यालयहरुमा श्रोत कक्षा संचालन साथै आवश्यकिय स्थानमा आवास सुविधा समेतको प्रबन्ध मिलाउन सके देशैभरका बौद्धिक अपाङ्गता भएका बालबालिकाले शिक्षा प्राप्तीको अवसर पाउनेछन् ।
बौद्धिक अपाङ्गता भएका बालबालिका हरुलाई समान र सम्मानजनक व्यवहार गरि उचित शैक्षिक अवसर दिइने हो भने समाज विकास र देशकै समृद्धिको जग बलियो हुनेमा दुइमत छैन । त्यसका लागि तिनै तहका सरकार, सरोकारवाला व्यक्ति तथा निकाय एवम् आम नागरिक सचेत र जागरुक हुनु अत्यन्त जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्