बैंकहरुले निषेधाज्ञा अवधिको थप शुल्क लिन नपाउने

बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा कुनै पनि प्रकारका पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो। त्यस्तै निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्वन्धी सूचना वा लिलामी सम्वन्धी सूचना जारी गर्न नपाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ। 

frontline

निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने व्यवस्था मिलाइने छ। 

निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिनेछ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्यतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ।

कोभिड–१९ बाट विकासित भएको असहज परिस्थितिलाई मध्यनजर गरी ग्राहक पहिचान अद्यावधिक नभएको कारण निष्क्रिय भएका बैंक खाताको हकमा बैंक तथा वित्तीय संस्थाले बिद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी त्यस्ता खाता सुचारु गर्न सकिने व्यवस्था मिलाइने भएको छ। 

हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाइने छ।

त्यसैगरी, राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था मिलाइने छ। 

प्रतिक्रिया दिनुहोस्

poster-here