बेमौसमी वर्षाका कारण ३ करोड ४० लाख बराबरको धानबालीमा क्षति
२६ कार्तिक, पाल्पा । पाल्पामा कात्तिक महिनाको पहिलो साता परेको बेमौसमी वर्षाका कारण ३ करोड ४० लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बैठकले क्षतिको तथ्यांक सार्वजनिक गर्दै ६ हजार ८ सय ८२ रोपनी क्षेत्रफलमा लगाइएको बालीमध्ये उक्त रकम बराबरको क्षति पुगेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।
कृषि ज्ञान केन्द्रका अनुसार १ हजार २ सय ७६ जना किसानले क्षति बेहोरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार १३ हजार ९ सय २१ क्विन्टल धान नोक्सानी भएको छ ।
सबैभन्दा धेरै तिनाउ गाउँपालिकामा ४ सय १५ जना किसानको २ हजार ४ सय ७७ रोपनी क्षेत्रफलको धान नोक्सान भएको छ । समितिले किसानको क्षतिको विवरण गृह मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयमा पठाएको छ ।
जिल्लामा ८ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती लगाउँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानका अनुसार कतिपय स्थानमा काटिसकिएको धान बगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्