बुढीगंगा जलविद्युत आयोजना यही वर्षबाट निर्माण थालिने

५ साउन, काठमाडौं । अछामस्थित २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको परामर्शदाता छनोट प्रक्रिया सकिएको छ। अर्धजलाशययुक्त यो आयोजनाको परार्शदातामा भारतीय कम्पनी जिओडेटा छनोट भएको हो।

अब छनोट भएको कम्पनीसँग सम्झौता गर्ने प्रक्रियामा रहेको परियोजना प्रबन्धक श्यामकिशोर यादवले बताए। यादवका अनुसार मुख्य ठेक्का प्रक्रिया भने टुंगिएको छैन। यसका लागि टेन्डर आह्वान गरिएको छ।

frontline

‘केही समय अगाडिदेखि नै हामीले विद्युतगृह, बाँधस्थल, पुल निर्माणका लागि टेन्डर आह्वान गरिरहेका छौं । यसका लागि कम्पनी छनोट काम सक्न करिब पाँच महिना लाग्छ,’ यादवले भने, ‘त्यसपछि हामी यही आर्थिक वर्षदेखि आयोजना निर्माण थाल्छौं।’

सेती नदीको सहायक नदी बुढीगंगामा बन्ने यो आयोजनाका काम सक्न करिब चार वर्ष लाग्ने बताइएको छ।

‘आयोजना निर्माणको काम थालेको २४ महिनाभित्र सक्ने हाम्रो योजना हो,’ उनले भने।

आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन प्रतिवेदन र वातावरण प्रभाव अध्ययन (इआइए) स्वीकृत भइसकेको छ। प्रसारण लाइनका लागि आइइई प्रतिवेदन पनि स्वीकृत भइसकेको छ।

यो आयोजनाका लागि ३२० रोपनी जग्गा अधिग्रहण भइसकेको उल्लेख गरिएको छ। विद्युतगृह, सबस्टेसन, कार्यालय भवन, बाँधस्थल लगायतका लागि तीन जिल्ला (अछाम, डोटी र बाजुरा) को जग्गा अधिग्रहण काम सकिएको हो।

आयोजनाका अनुसार अछामको २५०, डोटीको ५० र बाजुराको २० रोपनी जग्गा अधिग्रहण भइसकेको छ। त्यस्तै प्रसारण लाइन टावरका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरू भएको छ।

पुल निर्माण काम अन्तिम चरणमा पुगेको छ। बाँया किनारामा ‘अप्रोच स्ल्याब’ निर्माण काम जारी छ। ग्याबियन पर्खालको काम सकिएको छ। ग्राभेल तथा नाली बनिरहेको छ। बंकर र अन्य निर्माण काम जारी रहेको आयोजनाले बताएको छ।

हालसम्म कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ। त्यस्तै आवास गृह तथा क्याम्प फ्यासिलिटी निर्माण काम सकिएको छ।

‘अब यसको मुख्य कार्यालय पनि हामी अछाममै सार्छौं। एउटा सम्पर्क कार्यालय चाहिँ काठमाडौं उपत्यकामा रहन्छ,’ परियोजना प्रबन्धक यादवले भने।

आयोजनाका लागि अछामको बुढाबगरमा बाँध बनाएर ५.६ किलोमिटर सुरुङमार्गबाट ठाटी बजारमा रहने विद्युत गृहमा पानी खसालिनेछ।

यस आयोजनाबाट १०/१० मेगावाटका दुई वटा टर्बाइन प्रयोग गरेर २० मेगावाट विद्युत निकालिनेछ। पानी भर्न तीन किलोमिटर लामो जलाशय निर्माण हुनेछ। विद्युतगृह अछामको साँफेबगर बजारबाट ५ किलोमिटर दुरीमा रहने छ।

सुख्खायाममा यो आयोजना दैनिक ६ घन्टा पूर्ण क्षमतामा चल्ने उल्लेख गरिएको छ। आयोजनाले वार्षिक १०६ मेगावाट आवर विद्युत उत्पादन गर्ने योजना बनाएको छ।

उत्पादित विद्युत साँफेबगर–पहलमानपुर १३२ केभी प्रसारण लाइनबाट कैलालीको पहलमानपुरमा रहेको सबस्टेसनमा जोडिनेछ। ८१.७० किलोमिटर लामो प्रसारण लाइन साँफेबगर, डोटी हुँदै कैलालीको पहलमानपुरसम्म पुग्ने आयोजनाले जनाएको छ।

यो आयोजनाका लागि दस अर्ब ३३ करोड रूपैयाँ लाग्ने अनुमान छ। आयोजनाको अध्ययन गरी यसको निर्माण संयुक्त लगानीमा गर्न नेपाल सरकार र कुवेती फन्ड फर इकोनोमिक डेभलपमेन्टबीच सन् २०१२ मा सम्झौता भइसकेको छ। त्यस्तै साउदी विकास कोषसँग सन् २०१४ मा सम्झौता सकिएको छ।

यो आयोजनामार्फत विद्युत उत्पादन क्षमता वृद्धि गरी नेपालको सामाजिक र आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ। विद्युत निर्यात गरी व्यापार घाटा कम गर्ने लक्ष्य पनि सरकारले अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here