बुटवल–गोरुसिङ्गे–चन्द्रौंटा सडक विस्तार धमाधम

बुटवल । माघ ११ गते शिलान्यास भएको बुटवल–गोरुसिङ्गे सडक विस्तारको कामले गति लिएको छ । सडक विस्तारका लागि रुख कटान र बिजुलीका पोल सार्ने तथा पुल निर्माणको काम थालिएको छ ।

सडक परियोजना कार्यालयका अनुसार अहिले विभिन्न १० ठाउँमा पुल निर्माणको काम चलिरहेको छ । रुख काट्ने काम पनि अन्तिम चरणमा पुगेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार परियोजनाका प्रमुख एवं इन्जिनियर कुशलता न्यौपानेले रातोपाटीलाई बताइन् ।

frontline

परियोजनाले कपिलवस्तुमा फिल्ड कार्यालय स्थापना गरेर काम गर्दै आएको छ । वन कार्यालय रुपन्देही अन्तर्गतको क्षेत्रमा रुख कटान सम्भवतः अब एक हप्तामा सकिने र कपिलवस्तुमा विद्युत् पोल हटाउने तयारी भइरहेको न्यौपानेको भनाइ छ ।

हाल पहिलो चरण अन्तर्गत काम थालिएको छ । जसअनुसार रुपन्देहीमा ३० किलोमिटर र कपिलवस्तुमा २० किलोमिटर सडक विस्तार गरिनेछ । अर्को १९ किलोमिटर दूरीको गोरुसिङ्गे–चन्द्रौटा खण्डमा दोस्रो चरण अन्तर्गत काम थालिने जनाइएको छ ।

न्यौपानेले अहिले रुपन्देहीतर्फ ६ वटा र कपिलवस्तुतर्फ ४ ठाउँमा पुल निर्माणको काम धमाधम भइरहेको बताइन् । उनका अनुसार रुपन्देहीमा २० वटा र कपिलवस्तुमा १० वटा गरी जम्मा ३० वटा पुल निर्माण गर्नुपर्ने हुन्छ ।

रिटेनिङ वालको काम पनि सुरु भएको र कल्भर्ट निर्माण छिटै सुरु गर्ने तयारी रहेको न्यौपानेको भनाइ छ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सो सडक विस्तारको जिम्मा लिएको हो ।

असारमा ठेक्का सम्झौता भए पनि कात्तिक ४ गतेबाट सम्झौता लागु भएको छ । उक्त सडक परियोजनाका सूचना अधिकारी राजेन्द्र आचार्यले ठेकेदार कम्पनीलाई मोभिलाइजेसन खर्च १० प्रतिशत दिएको र यहाँ परियोजना कार्यालयबाट पनि सम्झौता अनुसार ५ प्रतिशत गरी हालसम्म १५ प्रतिशत रकम दिइएको बताए ।

यो सडक विस्तारका क्रममा रुपन्देही र कपिलवस्तु जिल्ला गरी कुल ७ हजार १११ वटा रुख कटान हुने आचार्यले बताए । तीमध्ये करिब ३ सय रुख काट्न बाँकी रहेको उनको भनाइ छ ।

कपिलवस्तुका साइट इन्जिनियर जीगेस प्रसाद चौधरीका अनुसार ५० किलोमिटर सडक अन्तर्गत ६ वटा भिओपी अन्डर पास हुने छन् । चार लेनको बाटो सिधा जाने र सर्भिस लेनको सडकमार्फत अन्डर पासबाट ओहोरदोहोर हुने उनले खुलाए ।

बुटवलको बेलबास, नयाँ गाउँ, तामनगर चोकमा यस प्रकारका अण्डरपास बन्ने उनको भनाइ छ । त्यस्तै सैनामैनाको मुर्गिया र कपिलवस्तुको चार नम्बर बजारमा पनि अन्डरपास निर्माण हुने छन् ।

पैदल यात्रुका लागि बाटो काट्न १२ वटा अन्डर पास र ११ वटा आकाशे पुल निर्माण हुने चौधरीले जानकारी दिए ।

बुटवलदेखि गोरुसिङ्गे खण्डमा रुखको मार्किङ, विद्युत् पोलको व्यवस्थापन, माटो, ढुङ्गा, गिटी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठुला मेसिन र सामग्रीहरुको व्यवस्थापन र सडकको जाँच गर्ने काम सकेर माघ ११ गते उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सडक विस्तारको शिलान्यास गरेका थिए ।

सडक विस्तारका लागि आवश्यक सबै प्रक्रियागत काम सकेरमात्र पुरानो सडक भत्काउने तयारी छ । बुटवल–नारायणगढ सडक विस्तारका क्रममा धुलो उडेर स्थानीयवासी र यात्रीलाई सास्ती भएको घटनाबाट पाठ सिकेर सडक भत्काउनमात्र हतार नगर्ने गरी काम थालिएको कपिलवस्तुका प्रदेश सभा सदस्य विष्णु पन्थीले रातोपाटीलाई बताए ।

सडक भत्काएपछि तत्काल बनाउने गरी काम गर्न आफूहरूले दबाब दिएको उनको भनाइ छ ।

आयोजना प्रमुख न्यौपानेले पनि सुरुमा अन्य सबै काम सकेरमात्रै सडक भत्काउने र पहिला एकतर्फको क्लियर गरेपछि अर्कोतर्फ भत्काउने योजना रहेको बताइन् ।

उनले सडक विस्तारको नाममा लामो समयसम्म स्थानीयलाई झन्झट दिनु हुँदैन भन्ने बुझेर नै सोही अनुसार योजना बनाइएको बताइन् ।

तत्कालीन राजा महेन्द्र शाहको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । १९ किलोमिटर दूरीको गोरुसिङ्गे चन्द्रौटा खण्डका लागि र बुटवलको तिनाउमा सिग्नेचर पुलका लागि पनि विश्व बैंकसँग सम्झौता भइसकेको जनाइएको छ ।

बुटवल–गोरुसिङ्गे सडक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here