बिहेमा संगीत बजाउँदा आक्रमणकारीहरुले तीनको हत्या गरे
१५ कात्तिक, नांगरहार : अफगानिस्तानमा बिहेमा संगीत बजाएको भन्दै आक्रमणकारीहरुले तीनको हत्या गरेका छन् । पूर्वीअफगानिस्तानस्थित नांगरहार प्रान्तको शाम्सपुर मार घुन्दी गाउँमा आक्रमणकारीहरुले बिहेमा रमाउँदै गरेका तीनजनाको हत्या गरिदिएका हुन्।
शुक्रबार राति भएको सो घटनामा अन्य दुई व्यक्ति गम्भीर घाइते भएको र घटना तालिवानको नाममा गराएको बताइएको छ । तालिवानले घटनामा संलग्न तीनजनामध्ये दुईलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
समाचार एजेन्सी एएफपिका अनुसार पक्राउ परेका व्यक्तिले आफूहरु इस्लामिक एमिराट भएको र इस्लामिक कानुनको उल्लंघन गर्दा आक्रमण गरेको बताएका छन् । एएफपिका अनुसार पीडित परिवारले बिहेको समयमा डिजे म्युजिक बजाउँदा तालिवान लडाकुले प्रवेश गरेको र लगत्तै बन्दुकमार्फत आक्रमण गरेको बताएका छन् ।
सन् १९९६ देखि २००१ सम्म तालिवानले गरेको शासनकालमा अफगानिस्तानमा संगीतमाथि प्रतिबन्ध लगाइएको थियो । यद्यपि तालिवान नेतृत्वको वर्तमान सरकारले भने संगीतको विषयमा कुनैपनि निर्णय नलिएको बताइको छ ।
इस्लामिक कानुनले संगीत र मनोरन्जनजस्ता गतिविधिलाई व्याख्या नगरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्