बालकोटमा मध्यरातसम्म महाधिवेशन केन्द्रित छलफल

१ मंसिर, काठमाडौं । नेकपा एमालेको महाधिवेशनको तिथि नजिकिँदो छ । चितवनको नारायणी किनारमा मंसिर १० गते उद्घाटनपछि नेतृत्व चयनको प्रक्रिया अघि बढाउने तयारी एमालेले गरेको छ ।

पदाधिकारीमा को–को भन्ने जोडघटाउ भने चलिरहेको छ । तर, महाधिवेशनमा कुन पदमा उठ्ने भन्ने मुख नेताहरुले खोलेका छैनन् । 

frontline

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने भन्दै सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने अधिंकाशको माग रहेको नेताहरु बताउँछन् । त्यसैले पनि नेताहरुले औपचारिक रुपमा उमेदवारीका विषयमा बोलेका छैनन् । 

सर्वसम्मत हुने गरी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव गर्नुपर्ने नेताहरुको भनाइ छ । अध्यक्ष ओली निवास बालकोटमा महाधिवेशन केन्द्रित छलफल रातारात भइरहेको एक नेताले जानकारी दिए ।

सोमबार राति मात्रै बालकोटमा २ बजेसम्म नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङबीच छलफल भएको स्रोतको दाबी छ । तथापी, पदाधिकारीको विषय टुंगिएको छैन । 

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष र महासचिवका आकांक्षीको व्यवस्थापनका लागि भन्दै राति अबेरसम्म गुटका बैठक सञ्चालनमा रहेको नेकपा एमालेका एक नेताले जानकारी गराए ।

पार्टी विभाजनका बखत तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका १० भाइ १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेर एमालेमा नै रहे । ती नेता र पूर्व माओवादीबाट आएका नेताहरुलाई पदाधिकारीमा व्यवस्थापन गर्न चुनौतीपूर्ण छ । 

उपाध्यक्ष युवराज ज्ञवाली सर्वसहमतिका लागि धेरै भूमिका अध्यक्ष ओलीको रहने बताउँछन् । 

“सर्वसम्मतिका लागि सबैभन्दा धेरै भूमिका अध्यक्षको नै हो । मापदण्ड बनाएर बनाएर प्रस्ताव ल्याउन सकिन्छ,” उनी भन्छन्,“सर्वमान्य रुपमा सहमति बन्न नसकेपनि सहमति हुने अवस्था बनाउन सकिन्छ । सहमतिमा चयन नहुँदा चुनावमा जानैपर्छ ।” 

तर ओलीले अहिलेसम्म पदाधिकारीमा कसलाई अघि बढाउने भनेर मुख खोलेका छैनन् । उनी अझै पनि ‘पर्ख र हेर’को अवस्थामा रहेको स्रोत बताउँछ । 

एमाले विभाजनको पीडाबाट ग्रुजिएको र पाँच दलीय गठबन्धनले पराजित गराउने भन्दै आन्तरिक झगडालाई मलजल गर्न नहुने पक्षमा ओली निकट नेताहरु छन् ।

नेपाललाई सुरुवातमा उक्साएर पार्टी विभाजनमा साथ नदिएका नेताहरुलाई ओलीमा विलिन भएको आरोप पनि लागिरहेको छ ।

सोही आरोपबाट बच्न ओलीलाई चुनौती दिनुपर्ने पक्षमा केही नेताहरु छन् । “ओलीमा विलिन भएको आरोप हामीलाई लागिररहेको छ । हामी ओलीमा विलिन भएका होइनौं । एमालेमा रहेका हौं । ती आरोपहरु चिर्नका लागि पनि चुनौती दिनैपर्ने अवस्था छ । सर्वसम्मत हुने भनेर जे भन्यो त्यसमा सहमत हुन सकिँदैन यसबारेमा नेताहरुबीच छलफल होला,” एक नेता भन्छन् । 

नेपालले छुट्टै पार्टी गठन गरेपछि एमालेमा अध्यक्ष ओलीसँग भिड्ने नेताहरु नरहेको टिप्पणी पनि हुने गरेको छ । अध्यक्षमा ओली नै दोहोरिने निश्चित जस्तै छ । तथापी, उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने संकेत यसअघि नै गरेका छन् । 

रावलले गत कात्तिक २३ गते गृहजिल्ला अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्षमा उठ्ने संकेत गरेका थिए । कमिटी बैठकमा कार्यकर्ताहरुले अध्यक्षमा उठ्न भनेपछि उनले त्यो आवाजलाई कमजोर हुन नदिने बताएका थिए । 

त्यसपछि कुराकानीमा उनले नेता कार्यकर्ताहरुको आवाज आएकाले आफूले उमेदवारी घोषणा गर्ने जानकारी गराएको तर औपचारिकरुपमा काठमाडौंमा थप छलफलपछि मात्रै तय गर्ने बताएका थिए । तर रावलले अहिलेसम्म औपचारिकरुपमा अध्यक्षमा उमेदवारी घोषणा गरेका छैनन् ।

उता, उपमहासचिव घनश्याम भुसालले पनि अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् । उनले निकस्टस्थहरु त्यसका लागि तयारी गरिरहेको बताउँछन् । उनी निकट एक नेताका अनुसार महाधिवेशन प्रतिनिधिहरुको विवरण आइसकेपछि मात्रै औपचारिक निर्णय गर्ने तयारी गरेका छन् ।

अहिले  सहमतिका नाममा ओली निकटलाई मात्रै प्रतिनिधिमा ल्याउने तयारी गरिएको भन्दै एमालेका कतिपय नेताले आक्रोश व्यक्त गरेका छन् ।प्रतिनिधि छनोटको विवरण पार्टी केन्द्रीय कार्यालयमा आउने क्रम जारी छ । 

“प्रतिनिधिको विवरण अझै आइसकेको छैन । प्रतिनिधिको अवस्था के–कस्तो छ । त्यो पनि हेर्नुपर्यो । अनि के गर्ने भन्ने छलफल हुन्छ,” ती नेताले भने । 

प्रतिनिधि छनोटमा सर्वसम्मत हुँदा १० भाइको अवस्था कमजोर रहेको बताइन्छ । कतिपय स्थानमा एकलौटी रुपमा रुपमा प्रतिनिधि छनोट भएको भन्दै विरोध पनि भइरहेको छ । 

ओलीविरुद्ध रावल र भुसाल दुवै उमेदवार हुने सम्भावना कम रहेको एक नेताको दाबी छ ।

उनका अनुसार दुईजना छलफल गरेर एकजनाले उमेदवार दिन सक्नेछन् । तर त्यो पनि प्रतिनिधिको नामावली हेरिसकेपछि मात्रै । “दुवै जना अध्यक्षमा लड्ने अवस्था नरहला । दुई जनाले छलफल गरेपछि मात्रै कुरा टुंगिन्छ,” उनले भने । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here