बाढीका कारण मनाङ उच्च जोखिममा

मनाङ । बाढीका कारण मनाङ सदरमुकाम चामेका ६ घर बगाएको छ। चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर पूर्ण रूपमा क्षति गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।

चामे बजारका अन्य घरमा पनि क्षति पुर्‍याएको उनले बताएका छन्। यी दुई खोलामा अहिले पनि बाढी आइरहेकाले क्षति बढ्न सक्ने सिडिओ लामिछानेले बताए। सोमबारदेखि परेको अविरल वर्षाले मनाङका अन्य क्षेत्रमा पनि क्षति पुर्‍याएको छ।

frontline

दुई खोलाका बीचमा रहेका सरकारी कार्यालयदेखि निजी घर अहिले जोखिममा परेका छन्। चामेस्थित जिल्ला प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कार्यालय र केही निजी घर यी दुई खोलामा आएको बाढीको बीचमा परेको एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए।

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले आफूहरू पूर्ण रूपमा असुरक्षित भएको बताए। ‘दुइटा खोला दुईतिर लागिसके, हामी त्राहीत्राहीमा छौ’, उनले भने, ‘मनाङ उच्च जोखिममा छ।’

उनले सुरक्षित हुनका लागि आफूहरूलाई ठाउँ नै नरहेको बताए।

मनाङको प्रवेशद्वारमै रहेको ताल गाउँका आधा घर डुबानमा परेका छन्। मर्स्याङ्दी नदी किनारमा रहेको उक्त गाउँमा रहेका ६० मध्ये ३० घर डुबानमा परेको सिडिओ लामिछानेले बताए। मर्स्याङ्दी नदी उर्लिएकाले बाँकी घरहरूमा पनि पानी पसेको छ भने थप घरमा पनि बाढी पस्न सक्ने उनको भनाइ छ।

बाढी र पहिरोका कारण हिमालपारि मनाङ पुर्‍याइएको राष्ट्रिय प्रसारण लाइनका पोलहरु पनि बगाएको छ।

‘बाढीले धेरै ठाउँका पोलहरू ढलेका छन,’ सिडिओ लामिछानेले भने, ‘बिहानैदेखि बिजुली अवरूद्ध छ।’

बाढीले चामे जलविद्युत आयोजनाको कुलो पनि बगाइदिएको छ भने चामेभन्दा केही तल रहेको तिमाङ लघु जलविद्युत आयोजना नै बगाएको सिडिओ लामिछानेले बताए।

‘बिजुली नहुँदा अब मोबाइल चार्ज गर्ने अवस्था पनि छैन’, सिडिओ लामिछानेले भने, ‘चार्ज सकिएपछि सञ्चार सम्पर्कविहीन हुनुपर्ने अवस्था आउँदैछ।’

ताललगायतका ठाउँमा बाढीका कारण सञ्चार सेवा पनि अवरूद्ध भएको उनले बताए। चार्ज सकिएपछि चामेमा पनि सञ्चार अवरूद्ध हुन सक्ने उनको भनाई छ।

बाढी र पहिरोका कारण मनाङस्थित तिमाङको बेलीब्रिज बगाएको छ। यसअघि जेठ दोस्रो साता परेको पानीले तिमाङ छहराको काठेपुल बगाएपछि सडक सञ्जालबाट मनाङ टुटेको थियो। तिमाङ बेलीब्रिजका साथै सडकका अन्य ठाउँमा पनि पहिरो गएको सिडिओ लामिछानेले बताए।

बाढी र पहिरोले मनाङमा विपत्ति भए पनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन। जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सारेको भन्दै सिडिओ लामिछानेले मावनीय क्षति हुन नदिन प्रहरी र सेना परिचालन गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

poster-here