बाघको आक्रमणबाट भारतीय नागरिकको मृत्‍यु

बाँके । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्व-पश्चिम राजमार्गमा पाटे बाघले एक जनाको ज्यान लिएको छ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरबाट एक जना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए।

frontline

‘त्यस क्षेत्रमा बाघ बौलाएको छ,’ एसपी अधिकारीले भने, ‘राजमार्ग क्षेत्रबाटै दुई दिनमा दुई वटा गाई पनि मारेको छ।’

बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भए पनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने खुलेको एसपी अधिकारीले बताए।

‘उनको मानसिक सन्तुलन पनि ठिक थिएन भनेर स्थानीयले जानकारी दिएका छन्,’ अधिकारीले भने।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको बताए।

‘खबर आएपछि हामी आज बिहानै खोजीमा गएका थियौं,’ शाहले भने, ‘बाघले ती व्यक्तिको शरिरको माथिल्लो भाग खाइसकेको अवस्थामा खुट्टामात्रै बिहान साढे ७ बजेतिर निकुञ्ज क्षेत्रभित्र फेला पर्‍यो।’

प्रमुख संरक्षण अधिकृत शाहले केही दिनदेखि गाभर क्षेत्रमा एक जोडी पाटेबाघ देखिइरहेकाले आइतबार बेलुकादेखि त्यसक्षेत्रमा गस्तिमा खटिने गरेको बताए।

‘हामी गस्तिमा जाँदा पनि आक्रमणमा परेका ती व्यक्तिलाई आइतबार बेलुका ५ बजेतिर राजमार्गको छेउमा बसेको देखेका थियौं,’ शाहले भने, ‘आज बुझ्दा उनैलाई बाघले झम्टिएर राजमर्गदेखि झन्डै ५ सय मिटरभित्र लगेर खाएको अवस्थामा खुट्टामात्र फेला पर्‍यो।’

मानसिक सन्तुलन ठिक नभएका भनिएका ती व्यक्तिलाई आइतबार झिसमिसे साँझमा बाघले झम्टिएर लगेको हुन सक्ने शाहले बताए।

‘बाघले कि झिसमिसे साँझमा वा सूर्योदयको समयमा बढीजसो शिकार गर्छ,’ शाहले भने, ‘दिनभर झाडीमा लुकेर बस्छ।’

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत गाभर क्षेत्रमा केही समयदेखि पाटेबाघ देखिन थालेपछि आफूहरूले क्यामेरा राखेर बाघको अनुगमन बढाएको, स्थानीयलाई जंगलमा घाँस दाउरा काट्नका लागि नजान सचेत तुल्याएको र राजमार्ग क्षेत्रमा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाउन निर्देशन दुई दिनअगाडि नै दिएको शाहले बताए।

निकुञ्ज भित्रै पर्ने पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा ठाउँ-ठाउँमा छाडा गाईवस्तु रहेको हुँदा बाघले ती गाईवस्तुलाई शिकार गर्दै आएकाले सचेत रहन आग्रह गरिएको शाहले जानकारी दिए।

गाभरका स्थानीयका अनुसार ती भारतीय नागरिक होटलमा भाँडा माझ्ने काम सकेपछि प्राय: राजमार्ग क्षेत्रमा साँझ एक्लै बस्थे। त्यही समयमा उनलाई बाघले झम्टिएर लगेको हुनु पर्ने बताएका छन्।

आइतबार बेलुका उनी फर्किएर होटलमा नआएपछि उनलाई बाघले लगेको हुन सक्ने आशंका गरी बिहानै खोजी सुरू भएको थियो।

केही दिनयता गाभर क्षेत्रमा बाघ रातभरजसो कराउने गरेको, स्थानीयका केही बाख्रासमेत मारेको हुँदा आफूहरू त्रसित बनेको एक स्थानीयले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here