बागमतीका नेतासँग देउवाको छलफल सुरु
काठमाडौं । फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफू निकटका नेताहरूसँग छलफल थालेका छन् ।
यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् ।
बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी छन् ।
बागमती प्रदेशका नेताहरुसँग छलफल सकेर आइतबारै गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्ने तयारी रहेको सभापति देउवाको सचिवालयले जनाएको छ ।
हालसम्मको छलफलमा देउवाले आसन्न १४औं महाधिवेशनमा आफू उम्मेदवार बन्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गर्दै आएका छन् ।
शनिबार प्रदेश २ का नेताहरुसँग छलफल गर्दा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने इच्छा देखाएका थिए ।
तर देउवाले निधिलाई समर्थन गर्ने संकेत नदेखाएको एक नेताले बताए ।
नेपाली काँग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्