बाक्लो हुस्सुसँगै शितलहरको कारण नारायणी अस्पतालमा विरामीको चाप बढ्दै

२४ पुस, वीरगन्ज (पर्सा) । तराईमा विगत तीन हप्तादेखि बाक्लो हुस्सुसँगै शितलहरको कारण अस्पतालमा विरामीहरुको चाप पनि बढ्दै गएको छ ।

चिसोबाट प्रभावित स–साना बालबालिका तथा बृद्धबृद्धाहरुको स्वास्थ्यमा समस्या देखिएसँगै वीरगन्जस्थित नारायणी अस्पतालमा विरामीहरुको चाप बढ्दै गएको हो ।

frontline

विशेष गरी स–साना बालबालिकाहरुमा सर्दी, खोकी र ज्वरो तथा बृद्धबृद्धाहरुमा दम, खोकीलगायतका समस्याहरु देखा परेको नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसियाले जानकारी दिए ।

उनका अनुसार नारायणी अस्पतालमा चिसोबाट बढी प्रभावित बालबालिका तथा बृद्धबृद्धाहरुको चाप बढेको हो ।

तराईमा बढ्दो बाक्लो हुस्सुसँगै शितलहरबाट बच्नका लागि हेलचेक्र्याँई गर्नुका साथै लाउन र बस्न समस्या भएका विपन्न परिवार एवं दीर्घरोगी जस्ता व्यक्तिहरु बढी उपचारका लागि अस्पतालमा आएका उनको भनाइ छ ।

विरामीहरुको संख्या बढेसँगै नारायणी अस्पतालमा बेडको पनि अभाव देखिएको छ ।

उनले भने, ‘मौसम अनुकुल नभएको कारण पनि स्वास्थ्यमा समस्या देखिनु स्वभाविक नै हो । तर यसबाट बच्नका लागि सचेत हुन आवश्यक छ ।’

त्यस्तै उनले बढ्दो चिसोबाट बच्नका लागि न्यानो लुगा कपडा लगाउने, झोल पदार्थ बढी खाने, लुगा कपडा अभाव भएकाहरुले आगोको सहारा लिने, आवश्यक परे मात्रै घरबाट निस्कने जस्ता कुराहरुमा ध्यान दिए चिसोबाट बच्न सकिने बताए ।

चिसोको कारण स–साना बालबालिकाहरुमा निमोनियाको पनि समस्या उत्तिकै देखिएको छ ।

बालबालिकाहरुलाई चिसोबाट बचाउन हेलचेक्र्याई गरेमा सर्दी, खोकी, ज्वरोको साथसाथै निमोनियाले पनि ग्रसित हुनसक्ने अवस्था रहेकोले चिसोबाट बच्न आग्रह समेत उनले गरे ।

नारायणी अस्पतालमा भर्ना भएका अधिकांश विरामीहरु गरीब, विपन्न परिवारका रहेका छन् । चिसोको मौसममा खान, लाउन समस्या पर्ने, फुसको छाप्रोमा दिनचर्या विताउने तथा त्रिपालको सहाराले गुजारा गर्ने एवं दैनिक ज्यालादारीमा काम गर्नेलगायत परिवारका सदस्यहरु चिसोबाट बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here