बाँदरको अन्त्येष्टिमा १५ सय मानिस उपस्थित
१८ माघ, काठमाडौं । भारतको मध्यप्रदेशको एउटा गाउँमा एक रोचक तथ्य सार्वजनिक भएको छ ।
त्यहाँ एक बाँदरको अन्त्येष्टिमा करिब १ हजार ५ सय जना मानिस उपस्थित भई पूरा हर्षोल्लासका साथ अर्थी निकालेका थिए ।
तर, अहिले शवयात्रामा संलग्न सबैको नराम्रो दिन शुरु भएको छ ।
स्थानीय मिडिया रिर्पाेटका अनुसार मध्यप्रदेश निजगढ जिल्लाको दलपुरा गाउँमा एक बाँदर बारम्बार आउने गर्थो ।
गाउँलेहरू त्यो बाँदरलाई औधी माया गर्थे । रिर्पाेटका अनुसार २९ डिसेम्बरमा बाँदरको मुत्यु भएपछि गाउँलेहरू निकै दुःखी भएका थिए ।
सबै मिलेर हनुमानको प्रतीक भन्दै बाँदरलाई भव्यता र सम्मानका साथ खुसी भएर अन्तिम बिदाइ गर्ने निर्णय गरे ।
बाँदरको मृत्युपछि चन्दा संकलन गरेर अन्तिम यात्रा निकालिएको थियो । यस क्रममा हनुमानसँग सम्बन्धित भजनसमेत गाएका थिए ।
त्यसलाई मसान घाट लगेर बाँदरलाई विधिपूर्वक अन्त्येष्टि गरे । अन्त्येष्टिपछि गाउँलेले मुत्यु भोजको समेत ठूलै आयोजना गरे । टेन्टमा करिब १५ सय मानिसले एक साथ बसेर खाना खाएका थिए ।
अन्त्येष्टिपछि गाउँलेले आयोजना गरेको मुत्यु भोजमा सहभागी भएका धेरैले बाँदरको शोकमा कपाल समेत खौरेका थिए ।
बाँदरको धुमधामका साथ दाहसंस्कार भएको जानकारी आएपछि जिल्ला प्रशासनले उक्त गाउँलेविरुद्ध कोरोना प्रोटोकल उल्लंघन गरेको भन्दै प्रहरीले मुद्दा दर्ता गरी दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको कारबाहीले गाउँलेहरू डराएर यताउता भाग्दै लुकेका थिए ।
प्रतिक्रिया दिनुहोस्