बलात्कार सम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर छ : प्रधानमन्त्री देउवा
११ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाइसकेको बताए ।
सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसका महिला नेताहरूको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री देउवाले बलात्कारसम्बन्धी मुद्दामा जाहेरीका लागि तोकिएको हदम्यादको व्यवस्थाकै कारण हिंसापीडित महिलाले न्याय नपाउने अवस्था नहुने बताएका हुन् ।
यसबारे सरकार संवेदनशील छ । हदम्याद बढाउनुपर्छ । त्यसको प्रक्रिया अघि बढिसकेको छ,’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले भनेको उदृत गर्दै सांसद् एवम् कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले भनिन् ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा महिलासम्बन्धी मुद्दाहरूमा सरकारलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेको टोलीमा कांग्रेसका महिला नेताहरू सहभागी थिए ।
उनीहरूले लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्न, आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन गर्न, आगामी वर्षको बजेटमा महिलाको स्वास्थ्यलाई लक्षित गरेर कार्यक्रम र योजनाहरू ल्याउन माग गरेका छन् ।
सांसद संग्रौलाले पछिल्लो समय मूल्यवृद्धिका कारण महिलाको दैनिकीमा परेको असरबारे समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्