बलवाको स्वास्थ्य संस्था : न कर्मचारी न एम्बुलेन्स

बलवा नगरपालिकाको अधिकांश स्वास्थ्यमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । नेपाल सरकारले दरबन्दीअनुसारको स्वासथ्यकर्मी व्यवस्थापन नगरेपछि समस्या भएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख तथा सूचना अधिकारी यमुनाप्रसाद यादवका अनुसार पालिकाभित्रका ११ मध्ये ६ वटा आधारभूत स्वास्थ्य संस्थामा कर्मचारी अभाव छ । संस्थामा कम्तीमा पनि ६ जना कर्मचारी आवश्यक हुने भएता पनि २ जनाको भरमा सेवा प्रवाह भइरहेको उनले सुनाए । 

frontline

दुई जना कर्मचारीको भरमा स्वास्थ्य संस्थाले कस्तो सेवा दिँदै आएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘संस्थाको लागि आवश्यक पर्ने औषधि तथा सामग्री पालिकाले नै वितरण गर्दै आएको छ ।’ आधारभूत स्वास्थ्यको लागि प्यारामेडिकल, नर्स, कार्यालय सहयोगी आवश्यक पर्ने भएता पनि संस्थामा सो नभएको उनको भनाइ छ । ‘संस्थाको लागि नर्स र कार्यालय सहयोगीको आवश्यक छ । तर स्थानीय  तह र संघीय सरकारले व्यवस्थापन गर्न सकेको छैन,’ उनले भने। 

जनशक्ति अभावले सामान्य सेवा मात्रै सञ्चालन भइरहेको उनले बताए । पालिकाको स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार भए पनि सबै सेवा सञ्चालन हुन नसकेको उनले सुनाए । साथै पालिकामा डाक्टर समेत नभएको उनको भनाइ छ । 

स्वास्थ्य संस्थाका लागि कर्मचारी व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन पनि हालसम्म विज्ञापन गर्न नसकिएको उनले जानकारी दिए । 

स्वास्थ्य संस्थामा पुग्नको लागि कम्तीमा १० देखि १५ मिनेट लाग्ने उनले सुनाए । ‘स्वास्थ्य संस्था बस्तीबाट नजिक छ । निजी वा सार्वजनिक गाडीमा १० देखि १५ मिनेटमा स्वास्थ्य संस्था पुग्न सकिन्छ,’ उनले भने, ‘तर आकस्मिक तथा विशिष्ट सेवाको लागि जनकपुर पुग्नुपर्छ ।’

बिरामीलाई अस्पतालसम्म लैजानको लागि पालिकासँग एम्बुलेन्स पनि नभएको उनले बताए । पालिकासँग भएको एम्बुलेन्स बिग्रिँदा समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here