बबई नदीमा पौडीको अभ्यास गर्ने क्रममा युवकको बगेर मृत्यु

दाङ ।  वन रक्षकमा फारम भरेका एक जना युवकको बबई नदीमा पौडीको अभ्यास गर्ने क्रममा बगेर मृत्यु भएको छ। 

दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका १९ वर्षीय आशिष चौधरीको आइतबार दिउँसो बबई नदीमा अभ्यास गर्ने क्रममा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। 

frontline

साथीसँगै दंगीशरण गाउँपालिका वडा-३ रावत गाउँका विशाल चौधरीको घरमा पुगेका आशिषको पौडीको अभ्यास गर्ने क्रममा बबईमा बगेर मृत्यु भएको डिएसपी अर्यालले बताए। 

‘उनीहरूले सँगै वन रक्षकको तालिम भरेका रहेछन्,’ अर्यालले भने, ‘वन रक्षक बन्न रुखमा चढ्न सक्नुपर्छ र पौडी खेल्न जान्नुपर्छ भनेर उनीहरू बबईमा अभ्यास गर्न गएका रहेछन्। त्यही क्रममा एक जनाको बगेर मृत्यु भएको रहेछ।’

दुई साथीसँगै बबईमा पौडीको अभ्यास गर्न पसे पनि विशालले पौडिँदै बबई पार गर्न सफल भएको र आशिष भने बगेको डिएसपी अर्यालले बताए। 

आइतबार दिउँसो घटना भएको केहीबेरमै करिब दुई अढाई सय मिटर तल आशिषको शव फेला परेको थियो। 

आशिष परिवारका एक्ला सन्तान रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here