बन्द सत्र सुरू भएको छैटौं दिनमा टुंगियो झापा एमालेमा पदाधिकारीको नाम

गत साता सुरू भएको नेकपा (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनले बुधबार मात्रै पदाधिकारीसहितको जिल्ला कमिटी चयन गरेको छ।  

बन्द सत्र सुरू भएको छैटौं दिन बुधबार जिल्ला कमिटीको पदाधिकारी टुंग्याएको एमालेले बिहीबार मात्रै औपचारिक घोषणा गर्दैछ।

frontline

‘पदाधिकारीदेखि सदस्यहरूसम्म सहमतिमा चयन गर्ने प्रक्रिया पूरा भएको छ,’ एमाले झापाका इन्चार्ज विशाल भट्टराईले भने, ‘औपचारिक घोषणा र सपथ बिहीबार हुनेछ।’ 

नेता भट्टराईका अनुसार झापा अध्यक्षमा प्रेम गिरी, उपाध्यक्षमा शिव ढुंगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी र महिला उपसचिवमा अनिता कन्दङ्वा चयन भएका छन्। 

अघिल्लो बिहीबार सुरू भएको झापा अधिवेशनको बन्द सत्र शुक्रबार सुरू भएको थियो। अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व चयन गर्न भनेका  थिए। ओलीले आफ्नो गृहजिल्लामा  हस्तक्षेप गरेको आरोप लागेको थियो। आफूले रोजेका व्यक्तिलाई विभिन्न पदमा राख्नकै लागि बन्द सत्र लम्ब्याएको भन्दै कार्यकर्ताले असन्तोष प्रकट गरेका थिए। 

जिल्लामा कुनै पनि पदमा चुनाव नगर्न निर्देशन दिएर पदाधिकारीको नामसमेत घोषणा गरी अध्यक्ष ओली काठमाडौं फर्किएका थिए। तर, ओलीको आदेशलाई जिल्लामा केही नेता कार्यकर्ताले भने चुनौती दिए। 

तिनैमध्येका एक थिए, बोधप्रसाद घिमिरे। अहिले दमक नगर कमिटीका इन्चार्ज घिमिरेले सचिवमा उम्मेद्वारी दिएका थिए। ओलीको निर्देशन भने तुलसी कार्कीलाई बनाउनु भन्ने थियो। घिमिरेले उम्मेदवारी फिर्ता नलिएपछि बन्द सत्र लम्बिएको थियो।

मंगलबार साँझ भने सचिवका दुवै दाबेदारले उम्मेदवारी फिर्ता लिएको पत्र इन्चार्ज भट्टराईलाई दिएका थिए।

‘उहाँहरू दुवै जनाले उम्मेदवारी फिर्ता लिएको पत्र दिनुभयो,’ भट्टराईले भने, ‘हामीले आज जिल्ला कमिटी फाइनल गर्यौं।’ 

चुनाव नगर्न चाहेको कुरा स्वीकार्दै भट्टराईले भने, ‘हामीले चुनाव नगराउन चाहेकै हो। तर, अहिले बाहिर भनिए जस्तो जबरजस्ती कमिटी घोषणा भएको होइन। उम्मेदवारहरूलाई मनाएरै उम्मेदवारी फिर्ता लिन लगाइएको हो।’ 

झापामा चुनाव नगराउन ओलीले निर्देशन दिनुको पछाडि उदयपुरमा भएको चुनाव भएको कार्यकर्ताहरू बताउँछन्।

‘उदयपुरमा संस्थापनले अघि सारेका उम्मेदवार पराजित भएर त्यसलाई चुनौती दिने उम्मेदवार विजेता बने,’ एमालेका एक नेताले भने, ‘पाँचथरमा संस्थापनले अघि सारेका उम्मेदवारले चुनाव हुन्छ भन्ने त्रासले उम्मेदवारी नै दिनुभएन। यहाँ पनि त्यस्तो नहोस् भनेर चुनाव रोकिएको हो।’ 

उदयपुरमा संस्थापनले अघि सारेका उम्मेदवार परमेश्वर घिमिरेलाई हराउँदै भागवत राउत अध्यक्षमा निर्वाचित भएका थिए। 

पाँचथरको अधिवेशनमा पनि उपाध्यक्ष रामबहादुर थापा बादल र स्थायी कमिटी सदस्य शेरधन राई दुवैले पाँचथर नै पुगेर आशारत्न जवेगुलाई अध्यक्ष बनाउनु भन्ने केन्द्रको निर्देशन रहेको र सोही अनुसार अध्यक्ष छान्न प्रस्ताव गरेका थिए। तर, अधिवेशन हलले नेताहरूको प्रस्ताव अस्वीकार गर्दै चुनावबाट अध्यक्ष छान्नुपर्ने माग गर्‍यो। 

विमल सापकोटाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि संस्थापनले अघि सारेकी आशारत्न जवेगुले उम्मेदवारी दर्ता नै गराइनन्। एक जनाको मात्रै उम्मेदवारी परेपछि सापकोटा निर्विरोध पाँचथर अध्यक्ष छानिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here