बजार अनुगमनः अखाद्य सामग्री नष्ट

फाइल तस्बिर

बैतडी, १५ असोज (रासस) ः दशँैतिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट रू २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा रू छ हजार ६०० बराबरको पेन्टस, रू १४ हजार ५३० बराबरको पेयपदार्थ, रू तीन हजार बराबरको चकलेट, रू ७७५ बराबरको बिस्कुट र रू ४३५ बराबरको अन्य लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको हो ।

frontline

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो ।

व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ । जिप्रका, पाटन नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, पाटन इलाका प्रहरी कार्यालय, खोड्पे प्रहरी चौकीे, बजार व्यवस्थापन समितिलगायत टोलीले अनुगमन गरेको थियो ।

चाडपर्वका बेला हुनसक्ने कालोबजारी रोक्न बजार अनुगमन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।

उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको र यसबाट व्यापारी तथा उपभोक्ता दुवै सचेत हुने विश्वास गरिएको छ ।

यसअघि गत भदौमा पनि संयुक्त अनुगमन टोलीले दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा रू एक लाख ३५ हजारभन्दा बढी मूल्यका अखाद्य तथा म्याद गुज्रेका बस्तु बरामद गरिएको थियो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here