प्रहरीकै संलग्नतामा विदेशबाट ल्याएको सुन, आइफोन र ल्यापटप लुटपाट

ललितपुर । ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान परिषद् नजिकैबाट लुटपाट भएको छ । काठमाडौँको महाराजगन्जमा कार्यरत प्रहरी जवानले अरू ४ जनासँग मिलेर विदेशबाट हस्तकला चलाउनेले ल्याएको सुन, आईफोन र एपल कम्पनीको ल्यापटप लुटेका हुन् ।
लुटमा संलग्न आरोपमा प्रहरी जवान डम्मलाल बहादुर पाध्याय, खोटाङको दिक्तेल–११ घर भएका विकाश श्रेष्ठ उर्फ प्रकाश र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएर बुढानीलकण्ठ बस्ने मनोज भुजेल उर्फ गुन्दास पक्राउ परेका हुन् ।




आरोपीहरूलाई अनुसन्धानका लागी प्रहरी वृत्त सातदोबाटोमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘प्रहरी हौँ भनेर लुटेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ, थप अनुसन्धान गर्दै छौँ ।’
साउन २९ मा आरोपीहरूले आईफोन–१४ दुई वटा, सामसुङ अल्ट्रा–२४ मोबाइल दुईवटा, एपल कम्पनीको ल्यापटप एउटा र गेम बक्स लुटेको जनाइएको छ । विदेशबाट मणि कुमार राईले मगाएको ४ तोला बराबरको दुईथान सिक्री पनि उनीहरूले लुटेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोदावरी जाँदै गरेका हस्तकला सहित दुईजना चढेको ट्याक्सीलाई मोटरसाइकलबाट फलो गरेर सातदोबाटो पुगेपछि लुटेको जनाइएको छ ।
लुटमा संलग्न ३३ वर्षीय विकाश श्रेष्ठ र मनोज भुजेल बुढानीलकण्ठ बस्दै आएका छन् । बाजुराको त्रिवेणी गाउँपालिका–६ घर भएका डम्मपाल उपत्यका अपराध अनुसन्धान कार्यालयको महाराजगन्ज शाखामा कार्यरत रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्