प्रदेश १ मा नाइरोबी फ्लाईका संक्रमितको संख्या बढ्दै

२८ असार, विराटनगर । प्रदेश १ मा नाइरोबी फ्लाई किराका कारण संक्रमित हुनेको संख्या बढ्दै गएको छ। पूर्वी तराईका मोरङ, सुनसरी र झापामा सातायता संक्रमित बढेका हुन्।

प्रदेशको स्वास्थ्य मन्त्रालयकाअनुसार नाइरोबी फ्लाई किराका कारण घाउ भएर उपचारका लागि आउनेको संख्या दैनिक एक सय ५० जनाभन्दा बढी छ। 

frontline

किराबाट निस्कने कडा खालको एसिडका कारण संक्रमण वा घाउ भएर सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचारका लागि आउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ। त्यो संख्याले पनि किराको संक्रमण तीव्र रूपमा बढेको पुष्टि हुने मन्त्रालयको भनाइ छ। 

प्रदेश राजधानी विराटनगरस्थित कोसी अस्पतालका वरिष्ठ चर्म (छाला), यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. असित घिमिरेले दैनिक १५ जनासम्म उपचारका लागि आउने गरेको जानकारी दिए।

‘एक साताअघिदेखि किराका कारण संक्रमित भएर आउनेको संख्या बढ्दै छ,’ उनले भने, ‘किराले फोहोर गरिदियो भने पनि छालामा संक्रमण हुन्छ।’ 

संक्रमण भएको घाउ पाक्ने र अन्य खालका संक्रमणलाई थप असर पर्नसक्ने डा. घिमिरे बताउँछन्।  ‘बारुला वा कमिलाले टोकेजस्तो फोका हुँदैन। यो सरुवा रोग पनि हैन,’ उनले भने, ‘किराले असर पुर्‍याएका व्यक्तिलाई मात्रै संक्रमण हुन्छ। उपचारपछि निश्चित समयमा निको भइहाल्छ।’ 

एकैपटक संक्रमित धेरै आएकाले संख्या बढेजस्तो मात्रै देखिएको घिमिरेको भनाइ छ। खेतबारीमा काम गर्ने तथा जंगलतिर घाँस दाउरा गर्न जानेमा यस्तो समस्या धेरै देखिने उनले बताए।

‘बिरामीहरु शरीरमा डढुवा घाउ आयोभन्दै उपचारका लागि आउँछन्,’ डा. घिमिरे भन्छन्, ‘तर नाइरोबी किराका कारण संक्रमण भएको हुन्छ।’ बर्खाका समयमा यसको संक्रमण धेरै हुने जानकारी उनले दिए। अघिल्लो वर्षको तुलनामा केही मात्रामा बिरामी बढेको उनको भनाइ छ। 

घिमिरेका अनुसार फोहोर गर्दा वा छालामा घर्षण उत्पन्न हुने गरी मडारिँदा किराको शरीरबाट छालालाई जलाउने खालको एसिड निस्कन्छ। 

त्यो एसिड (अम्लीय पदार्थ)ले छालामा घाउ तथा एलर्जी हुने, जनै खटिराजस्तो घाउ आउने, ठूला दागहरु देखिने, छाला रातो हुने, धेरै पोल्ने लगायतका समस्या आउने उनले बताए। उनका अनुसार उपचारपछि यो संक्रमण बढीमा दुई साताभित्रमा ठीक हुन्छ। 

स्वास्थ्य सम्बन्धि गम्भीर समस्या ननिम्तिने भएकाले आत्तिन वा डराउन पर्दैन। तर किराको एसिड बढी फैलिएमा सामान्य ज्वरो आउने, जोर्नी दुख्ने, वान्ता हुनेसम्मका केही समस्या आउनसक्ने डा. घिमिरेको भनाइ छ।  

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले यो किराका कारण संक्रमित भएकाको विवरण सबै अस्पतालसँग माग गरिएको जानकारी दिए। विवरण प्राप्त भइसकेपछि विशेषज्ञसँग छलफल गरेर रोकथामका लागि प्रदेश सरकार सक्रिय हुने उनको भनाइ छ।

‘कोरोनाकालदेखि नै संक्रमणसँग जुध्ने गरिको मजवुत तयारी छ,’ यादवले भने, ‘नयाँ किराको संक्रमण नियन्त्रणमा पनि सरकार गम्भीर भएर लाग्ने छ।’

किराको संक्रमणबाट बच्नलाई अपनाउनुपर्ने उपायका बारेमा सर्वसाधारणलाई सचेत गराइने र संक्रमितको उपचारमा ध्यान दिइने उनको भनाइ छ। 

स्वास्थ्य सम्बन्धि सबै समस्याको सामना गर्नुपर्छ भनेर सरकार तयार रहेकाले थप समस्या आउन नदिन र उपचार तथा रोकथामलाई प्रभावकारी बनाएर लैजान सरकार प्रतिवद्ध रहेको जानकारी यादवले दिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here