‘प्रचण्ड’ले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाने प्रधानमन्त्रीसमक्ष राखे प्रस्ताव
१० पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन्।
राजनधानीमा सम्पादकहरुसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन्। ‘प्रतिपक्षी दलले संसदमा विरोधमा उत्रिरहेको छ।
सदनमा तमासा भइरहेको छ। त्यही भएर मैले त प्रधानमन्त्रीज्यूलाई उहाँ आउनु हुन्न, तपाईँ र म बालकोट नै जाउँ भनेको छु,’ उनले भने।
उनले ओलीलाई भेटेरै सदन नरोकिदिन आग्रह गर्न प्रधानमन्त्रीलाई भनेको बताए। ‘प्रधानमन्त्रीज्युले कांग्रेसको महाधिवेशनपछि भन्नुभएको थियो। हाम्रो राष्ट्रिय सम्मेलनपछि उहाँ आउन नमान्ने हो भने हामी नै जाने सोँचमा छौं,’ उनले भने।
प्रचण्डले राष्ट्रिय सम्मेलन पार्टीको समीक्षा र विश्लेषणमा केन्द्रीत हुने बताए। ‘पार्टीको क्रान्तिकारी रुपान्तरण किन हुन सकेन? खोज्छौं।
धेरैले हामीलाई साथ दिए तर त्यो भावना पक्रन नसक्नुको कारणबारे पनि समीक्षा गर्छौं,’ उनले भने।
उनले एमसीसीको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिएको अडानले आफू आश्चर्यचकित भएको बताए।
‘उहाँ (बाबुराम भट्टराई)ले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौं।
बाबुरामजीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्