प्रचण्ड र माधव कांग्रेसको बिँड बनेर एमाले सरकार ढालेको अध्यक्ष ओलीको आरोप
२१ साउन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट नेताहरुले कांग्रेसको बिँड बनेर एमाले सरकार ढालेको आरोप लगाएका छन्।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई इंगित गर्दै कांग्रेसको बिँड बनेको आरोप लगाए।
उनले बन्चरो र रुखको कथन सुनाउँदै भने, ‘बन्चरो लिएर एक जनाले रुख ढाल्न थालेछन्। वरपरका रुखहरु बरबर आँशु खसालेर रुन थालेछन्। अरु रुखहरुले किन रोएको भनेर सोधेछन्। आखिर ढल्नु त छँदैछ, मर्नु त छँदैछ। त्यो रुखले भनेछ, बन्चराले काट्यो त ठूलो कुरा होइन। फलामको बन्चरोले काट्दा त ठूलो कुरो होइन। तर हामीलाई काट्ने बञ्चराको बिँडचाहिँ काठकै छ, हामीजस्तै काठको। त्यो दुःखको कुरा छ।’ उनले अहिले राजनीति पनि बिँडजस्तै भएको बताए। ‘अहिलेको राजनीति त्यस्तै छ। कांग्रेसका बिँड हेर्नुस् त कस्ता छन्। एमाले ढाल्ने, एमाले काट्ने, एमाले सिध्याउने भनेका बिँडहरु कस्ता छन्? के-के नामका छन्,’ प्रचण्ड र नेपाललाई इंगित गर्दै उनले भने।
उनले बन्चराले जसरी बिँडको सहाराले रुख काट्यो त्यस्तै बिँडहरुले एमालेमाथि प्रहार गरेको बताए। ‘बन्चराले मात्रै रुख ढाल्न सक्दै सक्दैन। घोट्दा पनि हुँदैन, हिर्काउँदा पनि हुँदैन। बन्चरालाई बिँड हाल्नुपर्छ, बिँडचाहिँ काठको हुन्छ। अहिलेका बिँडहरुले एमालेमाथि प्रहार गरे,’ उनले भने।
उनले अघिल्लो चुनावमा एमालेले कांग्रेसलाई २३ सिटमा पुर्याइदिएको बताए। २३ सिटमा पुर्याइदिएको कांग्रेसले बिँडको सहारामा परमादेशी सरकार बनाएको आरोप उनको छ।
‘कांग्रेसलाई हामीले २३ सिटमा पुर्याइदिएका थियौं। कांग्रेसले हामीतिर लड्ने, ढाल्ने कुरा त छोडदिउँ, सोझो हेर्न पनि सक्दैनथ्यो। यिनै बीँडले कम्युनिस्ट सरकार ढालेर, पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालिपाउँ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ, त्यसका निम्ति परमादेश जारी गरिपाउँ भनिदिने यिनै बीँडहरु हुन्,’ उनले भने।
उनले कम्युनिस्टरुपी बिँडहरुलाई सम्झाइ बुझाइ फर्काउनुपर्ने बताए। ‘चुनाव आउँदैछ। यो गठबन्धनमा माओवादी र माधव नेपालका पछाडि लागेका नेताहरुलाई भन्नुपर्छ बिँड बनेर कांग्रेसको पछाडि लाग्ने कि कम्युनिस्ट पार्टी फर्किने हो भनेर सम्झाउनुपर्छ,’ उनले आह्वान गरे, ‘म सबै पार्टीका नेता-कर्यकर्ता साथीहरुलाई यो देशको रक्षाका लागि, स्वाधीनता र स्वाभिमानका लागि वामपन्थी भन्ने साथीहरुलाई कांग्रेसको बिँड बनेर कम्युनिस्ट आन्दोलन नढाल्नुस्। आउनुस् फर्किनुस्।’
उनले अझै गठबन्धनलाई नै म्यान्डेड दिने हो भने पाँच वर्षमा देश अस्थिपञ्जरमा परिणत हुने बताए। ‘परमादेशको सरकार एक वर्षमै यो हालत भएको छ। गठबन्धले पाँच वर्षलाई म्यान्डेड पाउने हो भने देश अस्थिपन्जरमा परिणत हुन्,’ उनले भने। उनले एमसीसी र एसपीपीका नाममा गठबन्धन सरकारले नेपालमा अन्तर्राष्ट्रिय द्वन्द्व सिर्जना गरेको आरोप लगाए। यस्तै परिस्थिति रहिआए नेपाललाई गठबन्धन सरकारले युक्रेन बनाउने ओलको आरोप छ। ‘यस्तै रहने हो भने युक्रेनजस्तै क-कसको स्वार्थमा नेपाल द्वन्द्वमा फस्दै जानेछ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्