प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन
२ कार्तिक, काठमाडौं । नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार एक समिति गठन गरेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार समितिलाई यथाशिघ्र प्रतिवेदन दिने गरी कार्यादेश दिइएको छ । समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराएर अध्ययन गरिने उनले जानकारी दिए । उनका अनुसार समितिले आफूलाई आवश्यक ठानेका क्षेत्रबाट प्रतिनिधिहरु थप गरी अध्ययन गर्न सक्ने भएको छ ।
समितिलाई अहिलेसम्म प्याराग्लाइडिङमा भइरहेका अभ्यासको अध्ययन गरी यो यसको उडानलाई थप व्यवस्थित तथा सुरक्षति बनाउन अपनाउनु पर्ने उपायबारे सुझाव दिने जिम्मेवारी दिइएको छ ।
गत आइतबार पोखरामा राष्ट्रिय खेलकुदका दौरान नेपाली सेनाका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको थियो । त्यसलगत्तै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्