पोखरा महानगरमा रासायनिक मलको मूल्य निर्धारण
पोखरा महानगरमा रासायनिक मलको मूल्य निर्धारण
पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ । महानगरपालिका मल वितरण व्यवस्थापन समितिको शुक्रबारको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।
मल वितरण व्यवस्थापन समितिका संयोजकसमेत रहेका महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डिएपी र पोटासको मूल्य तोकेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।
मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ । डिएपीको प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको छ । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो बढीमा रु. दुई थप लिन सक्ने निर्णय गरेको छ।
पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री–वितरण गर्न छनोट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल बिक्री–वितरण भइरहेको छ । मल बिक्री–वितरणका लागि गत आव ०८०/८१ मा मल विक्रेताले बिक्री गरेका आधारमा कोटा निर्धारण गरिएको प्रमुख कडरियाले बताए।
सूचीकृत विक्रेतालाई मलको कोटा निर्धारण गरिएको र महानगरले तोकेकै मूल्यमा सहज रूपमा किसानलाई उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ । सहज र सुपथ मूल्यमा मल बिक्री गरे–नगरेको अनुगमन गरिने पोखरा महानगरका उपप्रमुख गुरुङले बताइन्।
उनले भनिन्, ‘महानगरमा सूचीकृत विक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ। किसानलाई तोकिएकै मूल्यमा सहज रूपमा मल उपलब्ध हुनुपर्छ। अघिल्ला वर्षहरूमा पनि हामीले नियमित अनुगमन गरेका थियौँ, यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौँ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गरिने बताए।
कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डिएपीको तुलनामा पोटासको खपत कम भएको जानकारी दिए। उनले रासायनिक मलको अनुपात विश्लेषण गर्दा पोटासको प्रयोग कम भएको बताए। उनका अनुसार यसबारेमा किसानलाई सचेतना अभिवृद्धिको खाँचो छ।
पोखरा महानगरमा गत आवमा युरिया एक हजार २२१ मेट्रिक टन, डिएपी ६४५ मेट्रिक टन र पोटास ९८.९५ मेट्रिक टन गरी कुल एक हजार ९६५.२ मेट्रिक टन खपत भएको महानगरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्