पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !

विराटनगर । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ । रास्वपाले उम्मेदवार छनोटको गृहकार्यलाई आक्रामक रूपमा अगाडि बढाएको हो ।

परम्परागत राजनीतिक दलहरूमा निर्वाचनको मुखमा मात्रै उम्मेदवार छनोट गर्ने र शीर्ष नेताको तजबिजमा टिकट बाँड्ने प्रवृत्ति रहँदै आए पनि रास्वपाले निर्वाचनभन्दा निकै अगाडिदेखि नै ‘क्यान्डिडेट क्लब’ मार्फत आकाङ्क्षीहरूको खोजी, परीक्षण र प्रशिक्षणको प्रक्रिया थालेको हो ।

frontline

विराटनगर महानगर समितिले सोमबार आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित अन्तरक्रियात्मक कार्यक्रममा १९ वटै वडाका सभापति लगायत नगरपालिका, गाउँपालिका, जिल्ला, प्रदेश, केन्द्रीय नेता, सांसद तथा पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो । विराटनगर बसपार्कस्थित आरके पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा करिब ६ घण्टाभन्दा लामो समयसम्म स्थानीय निर्वाचन, उम्मेदवार छनोटको विधि र पार्टीको रणनीतिका बारेमा छलफल भएको थियो ।

रास्वपाका सचिवालय सदस्य लिमा अधिकारी, सचेतक प्रकाशचन्द्र परियार, केन्द्रीय सदस्य रोहन कार्कीलगायतका नेताले अन्तरक्रियात्मक कार्यक्रमको नेतृत्व गरेका थिए ।

विराटनगर महानगरपालिकामा आयोजित कार्यक्रममा १९ वटै वडाका सभापति, महानगर, जिल्ला, प्रदेश तथा केन्द्रका नेताहरूको बाक्लो सहभागिता थियो । विराटनगर महानगरको मेयर पदका लागिमात्रै पार्टीभित्र ५० भन्दा बढीले आन्तरिक आकाङ्क्षा देखाएको चर्चा छ

‘सबैलाई राखेर निर्वाचनको तयारीका लागि उहाँहरूको मनमा के रहेछ, उहाँहरूका गुनासा के रहेछन् र उहाँहरूको तयारी के रहेछ भनेर बुझ्न कार्यक्रम राखेका थियौँ । कार्यक्रम एकदमै राम्रो भयो,’ केन्द्रीय सचिवालय सदस्य लिमा अधिकारीले भनिन् ।

अन्तरक्रियाका क्रममा विभिन्न वडाका आकाङ्क्षीहरूले परम्परागत राजनीतिक गफभन्दा बाहिर निस्किएर आफ्ना स्थानीय योजनाहरू सुनाएको अधिकारीले बताइन् । ‘धेरै आकाङ्क्षी साथीहरू आउनुभएको रहेछ । उपमेयरका आकाङ्क्षी, मेयरका आकाङ्क्षी, वडाध्यक्षका आकाङ्क्षीहरूको भिजनहरू पनि सुनियो,’ अधिकारीले भनिन्, ‘कसरी काम गर्ने भन्ने विषयमा केही साथीहरूको एकदमै स्पष्ट भिजनसहितको प्रस्तुति थियो, तर केही साथीहरूको भने अलिकति तयारी पुगेको थिएन । आज हामीले सबै हेर्दै थियौँ । उहाँहरूको वास्तविक तयारी के रहेछ भन्ने जाँच्न र आगामी दिनका लागि उहाँहरूलाई वार्मअप गराउनु नै पार्टीको मुख्य उद्देश्य हो ।’

रास्वपाले खुला रूपमा सक्षम व्यक्तिहरूलाई पार्टी राजनीतिमा आकर्षित गर्न ‘ल्याटरल इन्ट्री’ को नीति पनि अगाडि सारेको छ । पार्टी बाहिर रहेका तर समाजमा स्थापित विज्ञ, क्षमतावान र इमानदार व्यक्तिहरूलाई समेत स्थानीय तहको नेतृत्वमा ल्याउने नीति रहेको अधिकारीले बताइन् । ‘हाम्रो त फेरि ल्याटरल इन्ट्री पनि छ,’ अधिकारीले भनिन्, ‘त्यहाँ क्षमता र योग्यता भएकाहरू को–कस्ता छन् भनेर यस्तै अन्तरक्रियामा हेर्ने हो नि । हामीले पनि हेर्ने हो, नेतृत्वले पनि बुझ्ने हो । किनभने मेयर हाँक्ने कुरा, महानगरको मेयर वा उपमेयर भनेको त साधारण क्षमता, साधारण योग्यता र साधारण मेहनतले त पुग्दैन नि !’

पार्टीभित्रका सम्भावित उम्मेदवारलाई आफ्नो योजना प्रस्तुत गर्दा व्यवस्थित ‘ब्लुप्रिन्ट’ बनाएर आउनसमेत उनले सुझाव दिइन् ।

अन्तरक्रियाका क्रममा सहभागी कार्यकर्ता तथा स्थानीय आकाङ्क्षीहरूले पार्टी नेतृत्वसमक्ष उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष र विधिसम्मत हुनुपर्नेमा जोडदार माग राखेका थिए । उनीहरूले नीति एउटा बनाउने र अन्तिम समयमा निर्णय अर्कै गर्ने परम्परागत दलहरूको रोग रास्वपामा दोहोरिन नहुने चेतावनी दिएका थिए ।

‘उहाँहरूले विशेषगरी क्यान्डिडेट क्लबकै विषयमा विभिन्न जिज्ञासा र आफूलाई लागेका कुराहरू राख्नुभयो । पार्टीले यस्तो गरिदिए हुन्थ्यो, उस्तो गरिदिए हुन्थ्यो भन्ने सल्लाह पनि दिनुभयो । अर्को मुख्य कुरा, उम्मेदवार छनोट प्रक्रिया एकदमै विधिसम्मत होस् भन्ने उहाँहरूको माग थियो,’ अधिकारीले भनिन्, ‘एउटा रूपरेखा बनाएर फेरि अन्तिममा अर्कै किसिमको निर्णय नगरियोस्, पार्टी यसमा पूर्ण प्रतिबद्ध हुनुपर्छ र इमानदारीपूर्वक लागु गर्नुपर्छ भन्ने कुरा कार्यकर्ता पंक्तिबाट आयो । हामीले पनि पार्टी यसमा दृढ रहन्छ र विधिअनुसार नै अघि बढ्छ भनेर आश्वस्त पारेका छौँ ।’

आवेदन दिनेको ओइरो

रास्वपाले स्थानीय तहको उम्मेदवार बन्न चाहने आफ्ना संगठित सदस्यहरूका लागि सुरु गरेको ‘क्यान्डिडेट क्लब’ मा तल्लो तहबाटै व्यापक आकर्षण देखिएको जनाएको छ । केन्द्रीय सचिवालय सदस्य अधिकारीका अनुसार गाउँपालिका तहमा मात्रै हालसम्म करिब २० हजारभन्दा बढीले उम्मेदवारीका लागि आवेदन दिइसकेका छन् । ‘गाउँपालिकामा २० हजार आवेदन पर्‍यो । अहिले नगरपालिकाको आवेदन प्रक्रिया जारी छ, त्यो अझै बन्द भइसकेको छैन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here