पहिलो हाफमा नेपालको अग्रता
१८ माघ, काठमाडौं । मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले एक गोलको अग्रता बनाएको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सुजल श्रेष्ठले नेपालका लागि गोल गरे । खेलको ११औं मिनेटमा सुजलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरे पनि नेपालका आशिष लामाले प्रहार गरेका बलमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै मिलाएको बलमा सुजलले गोल गरेका हुन् ।
लगत्तै मोरिससले बराबरी गर्ने अवसर पाए पनि सफल भएन । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो ।
तर १३औं मिनेटमा मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले दायाँ डाईभ गर्दै बचाए ।
पहिलो हाफमै नेपालले थप गोल गर्ने मौका सदुपयोग गर्न सकेन । ३६औं मिनेटमा दर्शन गुरुङले करिब ३० यार्डबाट हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
यस्तै ३९औं मिनेटमा दर्शनले नै पुजन उपरकोटीको फ्रिकिकमा हानेको हेडर पोष्ट माथिबाट बाहिरिएको थियो ।
पहिलो हाफको अन्त्यतिर मारिससले नेपालमाथि दबाब बनाए पनि गोल भने फर्काउन सकेन । यसअघि शनिवार खेलेको टिमबाट नेपाली टिममा ६ परिवर्तन गरिएको थियो ।
प्रशिक्षक अलमुताईरीले दुई खेलका लागि फरक टोली घोषणा गरे पनि १२ खेलाडी दुवै टिममा थिए । त्यसमध्ये पहिलो खेल खेलेका कप्तान किरणसहित दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ, अन्जन विष्टले भने दुवै खेलमा पहिलो रोजाईंमा खेले ।
यस्तै मरिससको टिममा पनि पहिलो रोजाईंका सात खेलाडी परिवर्तन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्