पहिरो अझै पन्छाइ नसक्दा, सर्बसाधारण मारमा

१९ मंसिर, ताप्लेजुङ । ताप्लेजुङबाट बिरामी बोकेर झापाको बिर्तामोड जाँदै गरेको ग्रामीण विकास मञ्चको एम्बुलेन्स मंसिर २ मा पाँचथरको हेवाखोला छेउमा डेढ घण्टा जाममा पर्‍यो ।

फुङलिङ नगरपालिका–९ का बिरामी लिएर गएको एम्बुलेन्सले साइरन त बजाइरह्यो तर न अगाडि बढ्न सक्यो, न पछाडि फर्कने अवस्था नै थियो ।

frontline

पाँचथरको फिदिम नगरपालिकाकी एक महिलाको मलामी आएकाले मोटरसाइकल र गाडी सडकको दायाँबायाँ राखिदिएपछि जाम परेको थियो । सदरमुकाम फिदिमबाट आएको ट्राफिक प्रहरीलाई सडक खुलाउन हम्मेहम्मे पर्‍यो ।

पूर्वको ताप्लेजुङदेखि पाँचथर सदरमुकाम फिदिम, इलाम हुँदै झापा जोड्ने उक्त सडक यसरी जाम भएको यो पहिलो पटक भने होइन । हेवाखोलाका बासिन्दाका अनुसार जाम भइरहन्छ तर कहिले छिटो खुल्छ, कहिले घण्टौं लाग्छ ।

एम्बुलेन्सलाई समेत पार पाउन गाह्रो पर्छ । यस्तो समस्या पाँचथरको हेवाखोलादेखि इलामसम्मै छ । जहाँ सडकको अधिकांश भाग एकतर्फी मात्रै छ ।

कात्तिक पहिलो साताको वर्षाका कारण झरेको पहिरो सडक विभागले अझै पन्छाइसकेको छैन । न त बगेको ठाउँमा पर्खाल लगाएर उठाउने काम सुरु भएको छ । ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख दीपक दुलाल कहिलेकाहीं अवरोध हुने गरेको बताउँछन् ।

झापाबाट पाथीभरा मन्दिर जान हिँडेकाहरूले होटल बुक गर्ने तर बेलुका आउन सकेनौं भनेर फोन आउने गरेको पाथीभरा होटल एन्ड ताप्लेजुङ लजका सञ्चालक नन्दु बानियाँ बताउँछन् ।

चारआलीबाट उकालो लाग्यौं भनेर कोठा बुक गर्छन्, कोठा राख्यो राति अबेरसम्म पनि आउन सक्दैनन्,’ बानियाँले भने ।

मेची राजमार्गको जिम्मा लिएको सडक डिभिजन कार्यालय इलामले भने दुई साताभित्रमा दुईतर्फी बाटो चल्ने दाबी गरेको छ ।

डिभिजन प्रमुख श्यामकुमार यादवले भने, ‘इलामतर्फको भाग पन्छाइसक्न लाग्यौं, अब पाँचथरको पनि लगातार काम भइरहेको छ ।’

यादवले दुईतर्फी बाटो सफा गर्ने काम भइरहेको बताए ।

पहिरो पन्छाउन समय नलाग्ने भए पनि ड्यामेज भएको ठाउँ पत्ता लगाएर मर्मत गर्न समय लाग्ने यादवको कथन छ ।

धेरै ठाउँमा वाल लगाउनुपर्ने भएकाले त्यसको स्टिमेट भइरहेको उनले बताए ।

पहिरो पन्छाउन मात्रै ५१ लाख रुपैयाँ खर्च हुने अनुमान कार्यालयको छ । कात्तिक पहिलो साताको वर्षा, बाढी र पहिरोले पाँचथर र इलाम खण्डमा धेरै क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here