पहाडी पालिकामा मान्छे रोक्ने कार्यक्रम : घर, दुहुनो गाई र एक लाख नगद

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई आगामी वर्षबाट घर दिने योजना अगाडि सारेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि बजेटबाट नै अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गर्दैछ ।

‘हाम्रो पालिका मकवानपुरकै विकट गाउँपालिका हो, यहाँका मानिसहरू घरबारी छोडेर शहर झरिरहेका छन् । यो रोक्ने र नयाँ आउनेलाई सुविधा दिने उद्देश्यले बजेटमा यस्तो कार्यक्रम ल्याएका हौं’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने ।

frontline

ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले पनि बसाइँ सरी आउनेलाई प्रोत्साहन गर्ने नीति लिएको छ । बसाइँसराइ गरेर आउनेलाई दुहुनो गाई उपहार दिने गत आर्थिक वर्षबाट नै सुरु भएको हो । पालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामा बसाइँ सरेर आउने परिवारलाई ३० हजार रुपैयाँ बराबरको दुहुनो गाई उपहार दिने घोषणा गरेको थियो । बसाइँसराइ रोक्न, युवालाई स्वरोजगार बनाउन अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको पालिकाको दाबी छ ।

बसाइँ सरेर जानेको संख्या बढ्दै गएपछि पर्वतको महाशिला गाउँपालिकाले पालिका फर्किनेलाई अनुदान दिने नीति अवलम्बन गरेको छ । पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै गाउँ फर्किनेलाई प्रोत्साहन गर्ने नीति लिएको हो । पालिकाले महाशिलामा फर्केर आउनेलाई १ लाख रुपैयाँ अनुदान र ६ महिनासम्म पुग्ने खाद्यान्न दिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here