पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ

‘इलिगल’ प्रवेश रोक्न व्यापक संख्यामा प्रहरी परिचालन

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमानाकामा थप निगरानी बढाएको छ । भारत–पाकिस्तानबिच द्वन्द्व चर्किएपछि पर्सा नाकाबाट प्रवेश गर्नेहरूमाथि कडाइ गर्न थालिएको हो । 

frontline

सिमानामा दुवै देश सुरक्षाकर्मीले ‘इलिगल’ प्रवेशलाई रोक्न व्यापक संख्यामा प्रहरी परिचालन गरेका छन् ।  पर्सा प्रहरीका अनुसार जम्मु काश्मीरमा आतंकवादी हमलापछि दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबिचको उत्पन्न विवादलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको हो । 

अहिले सीमानाका भएर आवतजावत गर्ने सर्वसाधारणमाथि सोधपुछ तथा जाँचको कामलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।पर्साका प्रहरी प्रमुख उपरीक्षक गौतम मिश्रले यही बुधबारदेखि जिल्लाका सबै प्रहरी युनिटहरूलाई सिमानामा ‘हाई अलर्ट’ भएर बस्न निर्देशन दिइएको बताए । अहिले मुख्य प्रवेश नाकासँगै ग्रामीण भेगका नाकाहरूमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ । 

प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका व्यक्तिलाई प्रवेशका लागि कागजात अनिवार्य गरिएको छ । तेस्रो मुलुकका व्यक्तिलाई विनाकागजात प्रवेशमा रोक लगाइएको पर्सा प्रहरी प्रमुख मिश्रले बताए । 

योसँगै नाकामा प्रहरीले आफ्नो ‘स्पेसल डग’ पनि परिचालन गरिरहेको छ । एक/दुई दिनको ग्यापिङ राखेर कुकुरसहित जाँच तथा निगरानी भइरहेको प्रहरी प्रमुख मिश्रको भनाइ छ । 

जिल्ला सुरक्षा समितिको निर्देशनबमोजिम काम भइरहेको मिश्रले बताए । ‘सिमानाबाट लागुऔषध ओसारपसार पनि भइरहेको छ । सबै हिसाबले सतर्कता बढाएका छौँ,’ एसपी मिश्रले भने, ‘अहिले पाकिस्तानी र बंगलादेशी नागरिक वीरगञ्ज नाका भएर नेपाल प्रवेश गर्न सक्ने अवस्थाको आकलन गरेर पनि थप निगरानी बढाएका छौँ ।’

‘इलिगल’ व्यक्ति, हातहतियार र लागुऔषध ओसारपसार रोकथामका लागि दुई लेयरको सुरक्षा जाँचको काम भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयका अनुसार ‘इलिगल’ व्यक्ति प्रवेश रोक्नुका साथै हातहतियार प्रवेश नहोस् भनेर पहिलो पंक्तिमा सशस्त्र प्रहरी बललाई खटाइएको छ । 

उनका अनुसार भारतबाट प्रवेश गर्ने व्यत्तिहरूको पहिलो जाँच सशस्त्र प्रहरीले गर्नेछ, सबै कागजात भेरिफाई गरिसकेपछि प्रवेश दिइनेछ । त्यसपछि दोस्रो पंक्तिमा भने नेपाल प्रहरीले जाँच गरेर सबै ठीक देखिएपछि मात्र तेस्रो मुलुकका व्यक्तिलाई प्रवेश दिइनेछ । 

पहलगाममा आतंकवादी हमलापछि दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबिच उत्पन्न विवादले एक अर्का देशका नागरिकलाई देश निकाला गरिरहेका छन् ।

#पहलगाम हमला असर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here