पशुपतिनाथको जलहरी बनाउँदा १७ किलो सुन गायब
३२ असार, काठमाण्डाै । महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको छ । पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको हो ।
पशुपति विकास कोषका अनुसार सुनको जलहरी १ सय ७ किलो ४ सय ९० ग्रामको हो तर उक्त जलहरीमा तामा‚ चाँदी र जिंकजस्ता अन्य धातु मिसाएर १६ किलो ९ सय ८९ ग्राम सुन हिनामिना भएको देखिएको छ।
सुनमा शुद्धता प्रतिशत समान नरहेको र त्यसमा अन्य धातु तथा रसायनको मिश्रण गरिएको महालेखाले उल्लेख गरेको छ।
सुनको जलहरीमा तामा २ किलो ९ सय ९० ग्राम, चाँदी १ किलो २ सय ४९ ग्राम,जिंक १२ किलो ७ सय ५० ग्रामसमेत मिसाइएको र यी सबै धातुसहित उक्त जलहरीको तौल गरी १ सय ७ किलो ४ सय ९० ग्राम सुन कायम गरेकोसमेत महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।
महालेखाको ५९ औँ प्रतिवेदनअनुसार सुनको जलहरी निर्माण गर्न पशुपति क्षेत्र विकास कोषले गत वर्ष नेपाल राष्ट्र बैंकबाट १ सय ३ किलो ७ सय ७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरेको थियो।
प्रतिक्रिया दिनुहोस्