पर्सामा सञ्चालित ४ वटा क्रसर उद्योग बन्द

२५ पुस, वीरगञ्ज । पर्सामा सञ्चालित ४ वटा क्रसर उद्योग बन्द गरिएको छ । वीरगञ्ज–२९ मुसैली स्थित यादव क्रसर उद्योग प्रालि, वीरगञ्ज–२९ बसडिल्वास्थित सत्यम शिवम बालुवा प्रशोधन उद्योग, जय नेपाल बालुवा उद्योग, पर्सागढी–४ परशुरामपुरमा रहेको गंगा बालुवा उद्योग बन्द गरिएको हो ।

पप्पु कन्स्ट्रक्सनले सखुवाप्रसौनी–१ मा सञ्चालन गरेको स्टक स्टोरमा पनि कारोबार नगर्न भनिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

frontline

पर्साका प्रहरी उपरीक्षक कोमल शाहले पर्सामा सञ्चालनमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिसकिएको जानकारी दिए । ‘पर्सामा चार वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा थियो, जिल्ला प्रशासन कार्यालयको आदेश बमोजिम तत्कालै बन्द गराएका छौं’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सिनाले गैरकानुनी र मापदण्ड विपरीत सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिएको जानकारी दिए ।

‘पर्सामा ९ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग रहेछ । जिल्ला समन्वय समितिमा त एउटा पनि दर्ता रहेनछ,’ उनले भने, ‘प्रहरीलाई भनेर गैरकानुनी ढंगले सञ्चालनमा रहेका क्रसरजन्य उद्योग बन्द गराएका छौं ।’

बारामा गैरकानुनी ढंगले सञ्चालन गरेको क्रसर तथा बालुवा प्रशोधन उद्योगको विद्युत लाईन काट्ने कार्यले सोमबार पनि निरन्तरता पाएको छ ।

क्रसर तथा बालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सोमबार पनि उद्योगहरुको स्थलगत अनुगमन गर्नुको साथै आवश्यक कारबाही गरेको हो ।

नवीकरण नगराएका र एउटा उद्देश्यले खोलेर अर्कै काम गरिरहेका १० वटा क्रसर उद्योग बन्द गर्नुको साथै विद्युत लाइन काटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।

करैयामाई गाउँपालिका स्थित बौदीमाई बालुवा प्रशोधन उद्योग, कलैया उपमहानगरपालिका–४ मा रहेको चण्डीमाई कन्ट्रक्सन एण्ड सप्लायर्स, फेटा गाउँपालिका–७ स्थित सुहाना ट्रेडर्स, फेटा गाउँपालिका–६ स्थित गढीमाई बालुवा धुलाई उद्योग लगायत १० वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्नुको साथै विद्युत लाइन काटिएको छ ।

बौदीमाईले बालुवा प्रशोधन भनेर ठूलो क्रसर चलाउने गरेको, चण्डीमाइले पनि बालुवा धुवाई भनेर क्रसर राखेको, उद्देश्य अर्कै राखेर खोलिएको सुहानाले पनि क्रसर चलाएको अनुगमनको क्रममा देखिएको थियो।

सिम्रौनगढ स्थित जयमाता दी ढुंगा क्रसर उद्योग भने बन्द अवस्थामा नै भेटिएको र प्रसौनी गाउँपालिका स्थित हृदय नारायण बालुवा प्रशोधन उद्योगले कुनैपनि कागजपत्र देखाउन नसकेको अनुगमन उपसमितिले जनाएको छ ।

‘क्रसर उद्योगको नवीकरण बन्द छ । त्यसैले गर्दा पनि अनुमति लिंदा बालुवा प्रशोधन उद्योग भनेर लिने तर क्रसर सञ्चालन गर्ने गरेको देखियो,’ सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘नवीकरण नगराएका र एउटा उद्देश्य राखेर अर्को काम गरिरहेको पाइएको छ । देखे भेटे जतिका उद्योगमा विद्युत अवरुद्ध गरेर कारोबार बन्द गर्न निर्देशन दिएका छौं, कतिपय उद्योगमा मान्छे समेत भेटिएन ।’

उपसमितिले बारामा शुक्रबारदेखि निरन्तर बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगको अनुगमन गरिरहेको छ । उपसमितिले यसअघि १५ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगको विद्युत लाइन काटेको थियो । बारामा ५३ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here