नेपालमा सिधा हवाइ उडान गर्न अमेरिका र युरोपेली वायु सेवा कम्पनीको इच्छा

फाइल तस्बिर

२७ असोज, काठमाडौं । नेपालमा सिधा हवाइ उडान गर्न अमेरिका र युरोपेली वायु सेवा कम्पनीले इच्छा देखाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीका अनुसार नेपालले स्वीटजरल्यान्डसँग हवाइ सेवा सम्झौता अगाडि नै कोड शेयर गरेर उडान गर्ने विषयमा द्विपक्षीय सम्झौता भइसकेको छ । यस्तो सम्झौतापछि दुवै देशको वायुसेवाले कोड शेयरमार्फत सम्बन्धित देशका यात्रुलाई सुविधा दिने छन् । 

frontline

यस्तो सम्झौतापछि नेपालबाट स्वीटजरल्यान्ड सिधा उडान नहुँदा पनि कोड शेयरमार्फत नेपाल वायुसेवा निगमले नै ट्रान्जिटमार्फत यात्रुलाई सम्बन्धित वायुसेवामार्फत सेवा दिन सक्छ । 

हवाई सम्झौतापश्चात नेपालमा अमेरिकी तथा स्वीटजरल्यान्डको सिधा उडान हुन सक्छ । तत्काल नेपालबाट युरोप र अमेरिका उडान हुन गर्ने क्षमता नेपाली वायुसेवासँग नभएपनि सम्बन्धित देशले नेपालमा भने उडान गर्न सक्छन् । हवाई सम्झौता दुबै मुलुकले बराबरी अधिकार पाउने गरी हुन्छ ।

यस्तो सम्झौता गर्न अमेरिका र स्वीटजरल्यान्ड इच्छुक भएकाले सम्झौता लागि नेपाल सरकारको स्वीकृति दिनुपर्छ । सरकारले स्वीकृति दिएमा आगामी डिसेम्बरसम्ममा अमेरिका र स्वीटजरल्यान्डसँग हवाइ सेवा सम्झौता हुन सक्ने अवस्था रहेको प्राधीकरणका महानिर्देशक अधिकारीले बताए । 

हवाई सम्झौता गर्न अमेरिकाले भने सम्झौताका प्रारम्भिक खाकासमेत दिइसकेको पनि महानिर्देशक अधिकारीले जानकारी दिए ।

नेपाली वायुसेवालाई यूरोपेली युनियन (ईयू) ले प्रतिबन्ध लगाएको अवस्थामा युरोपेली देशबाटै हवाइ सम्झौताको प्रस्ताव आउनुलाई सकारात्मक मान्नुपर्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार १० वर्षसम्म नेपाली उड्डयन क्षेत्रलाई ईयूको कालोसूचीमा राखिरहनु भने विडम्बना हो । तर, पनि नेपालमा यूरोपेली वायुसेवाले इच्छा देखाउनुलाई सकारात्मक मानिएको छ ।

पोखरा विमानस्थल तोकिएकै समयमा सञ्चालन हुन नसक्ने

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएको समयमा नै सञ्चालन हुन नसक्ने भएको छ । पोखरा विमानस्थल आगामी १ जनावरी २०२३ बाट सञ्चलन गर्ने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिले गरेको छ ।

प्राधिकरणले निर्णय गरेपछि फिल्डमा भएको तयारीसहितको विषयको प्रगति भने कमजोर छ । 

यो विमानस्थल सञ्चालन गर्न ४० मिटरको रिट्ठेपानी डाँडा काट्नु सबैभन्दा ठूलो चुनौती छ । डाँडा कटान गर्न प्राधीकरणले प्रस्ताव माग गरिसकेको भएपनि व्यवहारिक रूपमा हुने काम र ल्यान्डफिल साइटको व्यवस्थापन सबैभन्दा बढी चुनौतिपूर्ण हुनेछ । 

ल्यान्डफिल्ड साइट व्यवस्थापन पछिल्लो समय राजनीतिक मुद्दासमेत बन्न थालेकाले पनि समयमा नै यो विमानस्थल सञ्चालनमा समस्या हुने देखिएको छ । 

रिट्ठेपानी डाँडा काट्न कम्तीमा ६ महिना लाग्छ । तर, प्राधिकरणले भने भर्खर डाँडा कटानको ठेक्का लगाउने प्रक्रिया अगाडि सारेको छ । ४० मिटरको डाँडामध्ये १४ मिटर नकाटेसम्म क्यालिब्रेसन फ्लाइट समेत हुँदैन । पूरै डाँडा काटेर ४ लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने छ । 

विमानस्थल सञ्चालन तोकिएको समयमा गर्न रहेका र त्यसका लागि आवश्यक तयारी पनि भइरहेको प्राधिकरणले जनाएको छ । यो विमानस्थल सञ्चालन गर्न ल्याण्डफिल्ड साइटको व्यवस्थापन सबैभन्दा ठूलो चुनौति छ । 

यो विमानस्थल सञ्चालनसँगै हवाइ रुटको व्यवस्थापन पनि आवश्यक रहेको वायुसेवा कम्पनीको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको बुद्ध एयरले उडान सञ्चालन गर्न केही शर्त अगाडि सारेको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘यो विमानस्थलबाट उडान गर्न बुद्ध एयर तयार छ । तर, यसका लागि उडान रूटको सहज व्यवस्थापनदेखि प्राविधिक विषयका जटिललाई सहजीकरण गर्नुपर्छ’

पोखरा विमानस्थलबाट एटीआर ७२ जहाजबाटै दिल्ली उडान सञ्चालन गर्न दिनुपर्ने,  २० हजार फिटभन्दा कमको उचाइमा उडान गर्ने हवाई रुटमा उडान अनुमति दिनुपर्ने र दैनिक २ वटा उडान पाउनुपर्नेसहितको शर्त बुद्ध एयरले अगाडि सारेको छ ।

सरकारले २२ अर्ब लगानी गरेको यो विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय मात्रै हो । यस विमानस्थल सञ्चालन गरेर लाभ लिन पनि प्राधिकरणलाई कठिन छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here