नेपालमा भित्रियो साढे १७ अर्बको फलफुल
१७ साउन, काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिव साढे १७ अर्ब रुपैयाँको फलफुल आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफुल नेपाल भित्रिएको हो ।
सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको विभागले जनाएको छ ।
उक्त मूल्यमा गत आर्थिक वर्ष विभिन्न प्रकारका २९ करोड ७८ लाख ८२ हजार ३७ केजी फलफुल नेपाल भित्रिएको छ ।
गतवर्ष नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र १ अर्ब ६३ करोड ७१ लाख ३४ हजार रुपैयाँको केरा आयात गरेको छ ।
सोही समयमा १ अर्ब १० करोड ९४ लाख ७८ करोड रुपैयाँको आँप तथा अम्बा, १ अर्ब २७ करोड १९ लाख ७५ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४४ करोड ५४ लाख ४३ हजार रुपैयाँको अंगुर नेपालले आयात गरेको छ ।
विभागका अनुसार गतवर्ष १ अर्ब १३ करोड ६२ लाख ८८ हजार रुपैयाँको अनार, ५६ करोड १८ लाख ७५ हजार रुपैयाँको खरबुजा, २६ करोड ५४ हजार रुपैयाँको मेवा र १५ करोड १ लाख ७५ हजार रपैयाँको भुइकटर नेपाल भित्रिएको छ ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको फलफुलहरु आयात गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालले ९३ करोड ६० लाख ३६ हजार रुपैयाँ बढीको फलफुल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
प्रतिक्रिया दिनुहोस्