निलम्बित प्रधानन्यायाधीश जबरालाई निवासबाटै निस्किन रोक
२ असोज, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन ।
आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट निस्किन रोक लगाइएको हो ।
जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएसँगै सर्वोच्च परिसरमा पनि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
जबरा सर्वोच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरुले अदालत परिसरमा धर्ना दिएका छन् ।
शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत आउने बताएका थिए ।
जबराविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।
महाअभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्