निर्वाचनका क्रममा हुने खर्चको सीमा बढाउनुपर्ने माग
२७ फागुन, काठमाडौं । विभिन्न दलका नेताहरुले स्थानीय तहको निर्वाचनमा खर्च गर्न पाउने अधिकतम सीमाका विषयमा निर्वाचन आयोगसँग प्रश्न उठाएका छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारेमा शुक्रबार गरेको छलफलमा क्रममा उनीहरुले निर्वाचनका क्रममा हुने खर्चको सीमा बढाउनुपर्ने र खर्चको नियमनका विषयमा प्रश्न गरेका हुन् ।
त्यस्तै साना दलहरुका प्रतिनिधिहरुले निर्वाचनका लागि माग गरिएको चूनाव चिन्ह पाउनुपर्ने बताएका थिए । साथै उनीहरुले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय मान्यता प्राप्त दल बाहेक ७३ दलले आफूले प्रस्ताव गरेको चूनाव चिन्ह पाउनुपर्ने माग गरेको र कानूनमा भएको व्यवस्था अनुसार नै अघि बढने जानकारी गराएको उनले बताए ।
निर्वाचनलाई मितव्ययी बनाउनका लागि चुनाव खर्च खटाउने प्रस्ताव गरेको र दलहरुको सकारात्मक सुझाब प्राप्त भएको पौडेलले बताए ।
छलफलपछि माओवादी केन्द्र नेता लिलामणि पोखरेलले निर्वाचनमा हुने खर्चको नियमनको उचित प्रबन्ध हुनुपर्ने बताए । निर्वाचन प्रचार–प्रसारका क्रममा हुने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्ने छुट्टै साइबर क्राइम ब्यूरो बनाउने तयारी रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ ।
त्यस्तै लोसपाका नेता केशव झाले मतदानको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले निर्वाचनमा भाग लिन पाउने व्यवस्था सकारात्मक रहेको बताए ।
उनले मतपत्रको रंग हरियो राख्नुको कारण आयोगले जानकारी गराएपछि विवाद नभएको उल्लेख गरे ।
त्यस्तै राप्रपाका नेता भुवन पाठकले निर्वाचनमा आफुहरुले दर्ता गराएको चूनाव चिन्ह नै पाउनुपर्ने बताए । उनले निर्वाचनमा भाग लिने कुनै पनि दललाई भेदभाव गर्न नहुने जिकिर गरे ।
त्यस्तै एमालेका प्रतिनिधिहरुले मतपत्रमा चुनाव चिह्न हरियो बनाइएको भन्दै आयोगको ध्याकर्षण गराएको थियो ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तीब्र रुपमा तयारी भइरहेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्