नासाले मंगल ग्रहमा सुरु गर्दैछ सबैभन्दा तेज इन्टरनेट सेवा

मंगल ग्रहमा पृथ्वीमा भन्दा लाखौं गुणा तीव्र गतिको (हाइस्पीड) इन्टरनेट सेवा सुरु हुँदैछ । यो खबरबाट धेरै मानिसहरु बेखुस छन् किनकि बेलायत जस्ता देशमा समेत अहिलेसम्म पनि यस्ता उल्लेख्य इलाकाहरु यस्ता छन् जहाँको इन्टरनेट सेवा गुणस्तरीय छैन । यस्तोमा मंगल ग्रहमा हाइ स्पीड इन्टरनेट सेवा स्थापित गर्ने कुरालाई लिएर मानिसहरुले प्रश्न गरिरहेका छन् ।
तर यावत् प्रश्नहरुका बाबजुत मंगल ग्रहमा उच्च गतिको इन्टरनेट सेवा स्थापित गर्ने विषयमा प्रयोग चलिरहेको छ र छिटै नै यो प्रणालीले काम गर्न सुरु गर्नेछ ।




अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको नयाँ क्रान्तिकारी प्रविधिको सहायताले मंगल ग्रहमा हाइस्पीड इन्टरनेटको सुविधा उपलब्ध हुनेछ ।
डेलीस्टारको रिपोर्ट अनुसार नासाले यो कुराको पुष्टि गरेको छ । यस्तोमा प्रश्न उठ्छ कि आखिर मंगल ग्रहमा उच्च गतिको इन्टरनेटको आवश्यक किन भयो ? त्यहाँको इन्टरनेट कसले प्रयोग गर्ने हो ? र किन मंगल ग्रहमा इन्टरनेट प्रणाली स्थापित गरिँदैछ ?
डीप स्पेस अप्टिकल कम्युनिकेसन
वास्तवमा यो नासाको गहन अन्तरिक्ष इन्टरनेट सञ्जान योजना (डीप स्पेस इन्टरनेट नेटवर्क प्लान) हो । यसको सबैभन्दा पहिलो लाभ मंगल ग्रहलाई प्राप्त हुनेछ । डीप स्पेस अप्टिकल कम्युनिकेसन (डीएसओसी) नामक नयाँ प्रविधिको परिक्षण हाल नासाको साइकी अन्तरिक्षयानमा गरिंदैछ र अहिलेसम्मको परिणाम आशाजनक छ ।
यो प्रणालीले दूर अन्तरिक्षमा डेटा प्रसारणका लागि पारम्परिक रेडियो ट्रान्समिसनको साटो शक्तिशाली लेजरको प्रयोग गर्दछ । यसबाट मौजुदा विधिको तुलनामा १०० गुणा अधिक गति प्राप्त हुन्छ ।
यो प्रविधिबाट लाखौं किलोमिटर टाढासम्म एचडी भिडियो तथा जटिल डेटा प्रेषित गर्न सकिन्छ । अर्थात् यो प्रविधिबाट अन्तरिक्ष वा मंगल ग्रहमा हुने अनुसन्धानका डेटा, भिडियो, अडियो तथा तस्वीरहरू सजिलैसँग केही सेकेण्डमै पृथ्वीमा प्राप्त हुनेछन् ।
२६७ मेगाबिट प्रतिसेकेण्डको गति
डीप स्पेस अप्टिकल कम्युनिकेसन (डिएसओसी) प्रविधि यसअघि नै ४६ करोड किलोमिटर टाढाबाट डेटा प्रेषित गर्नमा सक्षम सावित भैसकेको छ, जुन पृथ्वी र मंगलको बीचको दूरीभन्दा पनि धेरै हो । यो प्रणालीको गति यतिधेरै छ कि पृथ्वीमा ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गरिरहेका अधिकांश सेवा प्रदायकहरू लज्जित हुनुुपर्ने अवस्था आउनेछ । निकै नजिकको दूरी, जस्तो कि पृथ्वी र मंगल बीचको ५ करोड ३० लाख किलोमिटरको दूरीमा यो प्रविधिले २ सय ६७ मेगाबिट प्रतिसेकेण्डको गतिमा डेटा प्रसारण गर्नेछ । यो उच्च गतिको इन्टरनेटको क्षेत्रमा एउटा चमत्कार नै हो ।
नासाको जेट प्रोपल्सन प्रयोगशालामा डिएसओसी परियोजनाका एक प्राविधिकका अनुसार उक्त प्रविधिको परिक्षणमा प्राप्त नतिजा निकै उत्साहप्रद तथा अपेक्षा भन्दा पनि अब्बल छ ।
यद्यपि यो प्रविधि अहिले आफ्नो प्रायोगिक चरणमै रहेको छ, तथापि भविष्यमा यसको ठूलो महत्व सावित हुनेछ । खासगरी मंगल ग्रहमा रोवर्स, अर्बिटर्सलगायतका यानका साथै भविष्यका मानव मिसनसँग सञ्चार सम्बन्ध कायम गर्ने प्रक्रियामा यो अद्धितीय फड्को हुनेछ ।
प्रतिक्रिया दिनुहोस्