नारायणी अस्पतालको आईसीयूमा साढे २ घण्टा बिजुली गायब

नारायणी अस्पताल वीरगञ्जको आईसीयू र सीसीयू कक्षमा शुक्रबार राति १०:३० देखि शनिबार बिहान १:०० बजेसम्म विद्युत् आपूर्ति बन्द भयो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • नारायणी अस्पताल वीरगञ्जको आईसीयू र सीसीयू मा विद्युत् आपूर्ति बन्द हुँदा उपचारमा समस्या आयो।
  • डाक्टर र नर्सहरूले मोबाइलको प्रकाशमा बिरामीको उपचार गरे, वायरिङ कमजोर भएर समस्या आएको बताइयो।
  • प्रशासन र प्रहरीले अस्पतालको भौतिक संरचना सुधार गर्न र कर्मचारीलाई २४ घण्टा ड्युटीमा राख्न निर्देशन दिए।

१८ जेठ, काठमाडौं । अस्पतालको अति संवेदनशील ‘आईसीयू’ र ‘सिसीयू’ कक्षमा अचानक विद्युत अवरुद्ध हुँदा के हुन्छ ?, उत्तर सहज छ- उपचारमा समस्या हुन्छ, बिरामीको ज्यान नै जान सक्छ ।

नारायणी अस्पताल वीरगञ्जको आईसीयू र सीसीयू कक्षमा शुक्रबार राति १०:३० देखि शनिबार बिहान १:०० बजेसम्म विद्युत् आपूर्ति बन्द भयो । साढे दुई घन्टा बत्ती जाँदा बिरामीको उपचारमा समस्या त भयो तर चिकित्सकको सावधानीका कारण कसैको ज्यान तलमाथि भने हुन पाएन ।

बत्ती गएको समयमा अस्पतालको आईसीयू र सीसीयू शय्यामा १७ बिरामी उपचारत थिए ।  चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय र सावधानी अपनाएर बिरामीको उपचार गरेका थिए । विद्युत् अवरुद्ध भएपछि चिकित्सक र नर्सले मोबाइलको ‘लाइट’ बालेर उपचार गरेका थिए ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले आईसीयू र सीसीयू कक्षमा वायरिङ सर्ट हुँदा समस्या आएको बताए ।

‘आईसीयू कक्षमा बिजुली गएपछि समस्या त हुने नै भयो । बिरामीलाई भने केही भएन,’ डा. दासले अनलाइनखबरसँग भने, ‘तर विद्युतको व्यवस्थापन गर्न दुई घन्टा लाग्यो ।’

डा. दासका अनुसार आईसीयू कक्ष पुरानो भवनमा छ । वायरिङ कमजोर छ । विद्युतीय भार बढी भएका उपकरण सञ्चालन गर्दा बेलाबेलामा समस्या आइरहेको हुन्छ ।

‘सबैतिर अन्धकार भएपछि मोबाइल बालेर उपचार गर्‍यौं,’ डा. दासले भने, ‘व्यवस्थापनको कमजोरी होइन । भौतिक संरचना कमजोर भएको हो ।’

‘अहिले गर्मी अत्यधिक छ । आईसीयू कक्षमा एसी धेरै छन् । नराख्दा पनि बिरामीलाई गाह्रो हुन्छ,’ डा. दासले स्पष्ट पारे, ‘कमजोर वायरिङ भएकाले कहिलेकाहीँ विद्युतको समस्या आउँछ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी प्रमुख गौतम मिश्रले नारायणी अस्पताल विकास समितिका अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डडेन्ट, प्रशासन प्रमुख, अस्पतालका विभिन्न विभाग तथा कक्षमा कार्यरत चिकित्सक, नर्सिङ विभागमा कार्यरत नर्सिङ स्टाफ, इलेक्टिसियन लगायत अस्पतालसँग जोडिएका सबै निकायका पदाधिकारी तथा कर्मचारीसँग शनिबार संयुक्त बैठक राखी अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गम्भीर हुन निर्देशन दिएका छन् ।

‘अस्पतालको आईसीयू र सीसीयूजस्तो संवेदनशील ठाउँमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुनु निकै गम्भीर विषय हो,’ प्रजिअ अर्यालले भने, ‘तपाईंहरूका कारणले कुनै बिरामीको ज्यान जोखिममा परेको भए जिम्मेवारी लिने कसले लिन्थ्यो ? हिजोको विषम घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता खालका कुनै पनि गल्ती र कमजोरी नदोहोर्‍याउन निर्देश गर्छु । जनताको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न पाइँदैन ।’

प्रहरी प्रमुख मिश्रले अस्पताल प्रशासनले इलेक्ट्रिसियन लगायत कर्मचारीलाई २४सै घन्टा ड्युटीमा खटाउनका लागि अनुरोधसमेत गरे ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले शुक्रबार राति भएको घटना गम्भीर प्रकृतिको भएकाले आगामी दिनमा त्यस्ता खालका घटना दोहोर्‍याउन नदिने बताए ।

‘अस्पतालको सघन कक्षमा बिजुली कटौती हुँदा इलेक्ट्रिसियन उपलब्ध नहुनु गम्भीर विषय हो,’ उनले भने, ‘ड्युटीमा खटिने कर्मचारी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ र आफ्नो जिम्मेवारी सम्हाल्नुपर्छ ।’

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले शुक्रबार राति भएको घटना गम्भीर प्रकृतिको भएकाले आगामी दिनमा त्यस्ता खालका घटना दोहोर्‍याउन नदिने बताए ।

डा. दासका अनुसार दुई जना सिकिस्त बिरामीलाई अर्को अस्पताल पठाउने तयारी गरिएको थियो । दुई घन्टाको बीचमा इलेक्ट्रिसियनबाट उक्त समस्याको हल गरिएको थियो ।

‘बत्ती गएपछि बनाउन केही ढिला भएको थियो । अस्पतालमा पठाउने तयारी गर्दागर्दै विद्युत् आएसँगै पठाउन परेन,’ उनले भने ।

लिक्विड अक्सिजन भएकाले बिरामीलाई अक्सिजन दिन समस्या नभएको उनले बताए ।
‘पाइपबाट नै बेडमा अक्सिजन पुगेको हुन्छ । सबैतिर अन्धकार भएपछि मोबाइल बालेर उपचार गर्‍यौं,’ डा. दासले भने,’ व्यवस्थापनको कमजोरी होइन । भौतिक संरचना कमजोर भएको हो ।’

‘पुरानो भवन छ । पहिल्यैको तारमा समस्या छ,’ डा. दासले समस्या सुनाए,’ अप्रेसन थिएटरका लागि छुट्टै तार तानिदिन इलेक्ट्रिसियनलाई आग्रह गरेका छौं । किनकि, पूरै भवनमा नयाँ वायरिङ गर्न खर्चले धान्न सक्दैन । त्यो भवन अब दुई-चार वर्षभन्दा बढी सञ्चालन गर्न पनि सकिँदैन ।’

अस्पतालमा बिजुली गायब |आईसीयू |नारायणी अस्पताल |वीरगञ्ज सिसीयू

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here