नवौं राष्ट्रिय खेलकुद : ४ सय मिटर दौडमा दुई वटा राष्ट्रिय कीर्तिमान
१ कात्तिक, कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा दुई वटा राष्ट्रिय कीर्तिमान बनेको छ ।
पोखरा रंगशालामा आज बिहान भएको ४ सय मिटर पुरुष/महिला दौडमा नयाँ कीर्तिमान बनेको हो ।
पुरुषतर्फ आर्मीका सोमबहादुर कुमाल र महिलामा एपीएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
सोमले निर्धारित दूरी ४७ दशमलव ९५ सेकेन्डमा पार गरे । उनले सन् १९९० मा चीनको बेइजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन् । चौधरीले ४८ दशमलव ३२ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान कायम गरेका थिए ।
एपीएफका आशीष चौधरीले ४९ दशमलव ४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । त्यस्तै आर्मीका प्रकाश दनुवारले ४९ दशमलव ९० सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते ।
महिलातर्फ एपीएफकी रमिताकुमारी थारुले ५८ दशमलव १० सेकेन्डमा ४ सय मिटर दूरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । उनले सन् २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन् ।
तुलसाले ५९ दशमलव ५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् । आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले कास्य पदक जित्न सफल भए ।
प्रतिक्रिया दिनुहोस्