नवनियुक्त उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत
काठमाडौँ, २४ असोज (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गर्नुभएको छ ।
शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्री हमालले आज बिहान पदबाट राजीनामा दिनुभएको थियो ।
प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गर्नुभएको र सोही अनुरोध स्वीकार गर्दै हमालले पदबाट राजीनामा गर्नुभएको प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्ले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गर्नुभएको स्वकीय सचिव जोशीले बताउनुभयो ।
आफू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न पदमा सक्रिय रही बाँकेको पार्टी सभापतिसमेत भएर काम गरेकाले सोहीअनुसार मूल्याङ्कन गरी प्रधानमन्त्रीले आफूलाई मन्त्री पदमा नियुक्ति गर्नुभएको हमालले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।
विभिन्न सञ्चारमाध्यममा सम्प्रेषित समाचार तथा कानुनविद्ले आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तका लागि लडेको लडाइँको समेत अवमूल्यन भएको वोध भएको पत्रमा उल्लेख छ ।
आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेपछि पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशङ्काकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेको भन्दै मन्त्री हमालले पदबाट राजीनामा दिएको जनाउनुभएको छ ।
हमाल लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशील हुनुहुन्छ । उहाँले विसं २०२७ देखि कांग्रेसका विभिन्न पदमा बसेर काम गरिसक्नुभएको छ । –––
प्रतिक्रिया दिनुहोस्