नदी किनारका बस्तीमाथि मडारिएको हिमाली सङ्कट
गत असोज २५ गते बिहानै बूढीगण्डकीमा झन्डै-झन्डै रसुवा-भोटेकोशीको जस्तै बाढी आएको जानकारी पाउनसाथ म ड्रोनको टोली लिएर विपद् प्रभावित क्षेत्र गोरखा गएँ। साँझपख स्यार खोला-बूढीगण्डकीको शिर-मुहानमा हेलिकप्टरबाट उद्धार र प्राविधिक अवलोकन सकेर फर्कंदै गर्दा हाम्रो नजर तीन जना अलपत्र व्यक्तिमा पर्यो। म नेपाली सेनाका अधिकारीहरूसँगै थिएँ। सेनाको हेलिकप्टर तत्काल ओरालेर ती तीनै जनालाई सुरक्षित स्थानमा पुर्याइयो।
दिनभरि भत्किएको छत-विक्षत भूभाग र गेग्रानले पुरिएको नदीको दोब हेरेपछि त्यो उद्धारले मनमा थोरै भए पनि राहत दियो। झन्डै डेढ महिनाअघि रसुवा-भोटेकोशीको महाविपद्को बेलामा पनि म यस्तै ड्रोन सर्वेक्षण गर्न र आपत्कालीन सञ्चार जोड्न रसुवाको उत्तरी भूभागमा पुगेको थिएँ।
यी दुइटा घटनाले हिमाली क्षेत्रमा भएको उथलपुथल र त्यसले ल्याएको विनाशकारी क्षति हेर्दा नेपाली हिमालय क्षेत्रमा कति ठूलो जोखिम रहेछ भन्ने कुराले मनमा ढ्याङ्ग्रो ठोक्यो।






प्रतिक्रिया दिनुहोस्