धार्मिक पर्यटन प्रदेशको समृद्धिको आधार ः मुख्यमन्त्री पोखरेल
गण्डकी, १७ असोज (रासस) ः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार भएको बताउनुभएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा बोल्दै उहाँले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्न सकिने बताउनुभयो ।
प्रदेशभित्रका धार्मिक पीठका प्रमुखहरुलाई एक ठाउँमा भेला गराएर संयुक्त अवधारणा बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोडेर आर्थिक क्रियाकलाप बढाउन सकिने बताउनुभयो ।
कालीगण्डकी नदी केबल नदी नभएर सभ्यता, संस्कृति र सम्पदाको आधार भएको उल्लेख गर्दै उहाँले यसैको महत्व र सम्भाव्यता अध्ययनका लागि गण्डकी प्रदेश सरकारले समिति गठन गरेको जानकारी दिनुभयो । धर्मलाई सामाजिक क्षेत्र, शिक्षा र विकासका गतिविधिसँग जोड्न सकिन्छ भन्ने उदाहरण विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रस्तुत गर्न सफल भएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशका अन्य पीठहरुले समेत यसको अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्दिर परिसरलाई व्यवस्थित बनाउने मात्र नभई गुरुकुल, प्राकृतिक चिकित्सालय, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेर विन्ध्यवासिनी धार्मिक समितिले महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै उहाँले प्रदेश समृद्धिको पहिलो आधार नै पर्यटन भएकाले कोरोनाले आक्रान्त बनाएको यस क्षेत्रलाई चलायमान बनाउन नेपालस्थित राजदूतहरुलाई गण्डकी सरकारले पोखरा बोलाएर विशेष कार्यक्रम गरेको बताउनुभयो ।
सम्मानित व्यक्तित्व वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले धर्मसँग जोडिएको संस्थाले संस्कृति र समाज सेवाको क्षेत्रलाई अगाडि बढाउन देखाएको क्रियाशीलताप्रति प्रशंसा गर्दै सिर्जनशीलताकै कारण मानव जीवन सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।
धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले लामो आरोहअवरोह पार गरेर समिति अहिलेको अवस्थामा आइपुगेको बताउँदै धार्मिक क्रियाकलापलाई अझ प्रभावकारी बनाउन समिति प्रयासरत रहेको जानकारी दिनुभयो । समितिका सचिव तीर्थ श्रेष्ठले लकडाउनको सदुपयोग गर्दै पुरातत्व विभागको स्वीकृतिमा विन्ध्यवासिनी माताको मूर्ति जीर्णोद्धार गरिएको बताउँदै अब मूर्तिमा अक्षता र फूल चढाउन रोक लगाइएको बताउनुभयो ।
समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले स्थापना गर्नुभएको हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार यो वर्ष वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले प्राप्त गर्नुभएको हो ।
यो पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ । विसं २०७६ को यो पुरस्कार महिला सशक्तीकरणमा सक्रिय दुर्गा घिमिरेलाई प्रदान गर्ने निर्णय भए पनि उहाँ उपस्थित हुन नसक्नु भएको कार्यक्रममा जानकारी गराइएको थियो । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ । कार्यक्रममा समितिद्धारा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलालाई बधाई अर्पणसमेत गरिएको थियो ।
बाँस्तोला समितिका कानुनी सल्लाहकार हुनुहुन्छ । बाँस्तोलाले मन्दिरका नाममा भएका जमिनको अवस्था पत्ता लगाएर त्यसको व्यवस्थापनमा आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विसं १९९८ असारमा धनकुटामा जन्मिनुभएका सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षाको अध्ययनसँगै साहित्यतर्फ मोडिनुभएको थियो ।
उहाँ संस्कृतिको अनुसन्धानमा पनि अनवरत क्रियाशील हुनुहुन्छ । लामो समय प्राध्यापनमा बिताउनुभएका दिवसले विभिन्न जातजाति र संस्कृतिको अनुसन्धानका साथै नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोकसंस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवसकी कविताएँ जस्ता कृतिहरु प्रकाशित गरिसक्नुभएको छ ।
दुर्गा घिमिरे चार दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । विसं २००५ वैशाख ३ गते सुनसरीको धरानमा जन्मनुभएकी घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र कानुनमा स्नातक गर्नुभएको छ । विसं २०३३ देखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उहाँ क्रियाशील रहँदै आउनुभएको छ । –––
प्रतिक्रिया दिनुहोस्