धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा
१७ साउन, काठमाडौं । धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडकहरु अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् ।
धादिङको तिङ्ग्राङ खानी र चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड हुँदै देशका विभिन्न स्थानमा आउ-जाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो गएका कारण गएरातिदेखि नै आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका-२९ केराबारी, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ ।
पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनहरुको लामो लाइन छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका-१० तिङ्ग्राङ खानीमा आज बिहान तीन बजे पहिरो खसेकाले सवारी आवागमन अवरुद्ध भएको छ । त्यहाँको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
धादिङकै धुनिबेशी नगरपालिका-९ अन्तर्गत निर्माणाधिन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो भने पन्छाइएको छ ।
पहिरो पूर्णरुपमा हटाएर दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा महानगरपालिका बेगनासबाट लमजुङको भोर्लेटार जाने सडक र कास्कीकै नयाँपुल घान्द्रुक उल्लेरी सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको छ ।
यसैगरी कास्कीको पोखरा-२९ घोतघोतेस्थित पृथ्वी राजमार्गमा नहरको पानी सडकमा बगिरहेकाले सवारी साधन फस्ने, दुर्घटना हुने सम्भावनाका कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्