दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित
१० साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन्। कार्यव्यवस्था उचित नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
कर्मचारी र व्यवस्थापनबीच मंगलबार वार्ता भएपनि वार्ता बिना निष्कर्ष टुंगिएको छ। नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्ध नभएको भन्दै आन्दोलन गरेको हो। युनियनका अध्यक्ष विजय यादवले जमलस्थित नेपाल दुरसञ्चार भवनमा काम गर्ने वातावरण नभएको बताए।
‘स्थानान्तरण नै उपयुक्त हुन्छ’ उनले भने, ‘श्रम नियमावलीअनुसार कार्यस्थल नभएकाले आन्दोलन गरेका हौं।’ व्यवस्थापनले वार्ता गर्न कमिटी गठन गरेको छ। तर, कमिटीमा कर्मचारी बस्न मानेका छैनन्। उनीहरूले अध्यक्षलगायत व्यवस्थापन तहका कर्मचारीसँग वार्ता गर्नुपर्ने अडान लिएका छन्।
युनियनका सदस्य सागर भट्टराईले बैठकमा व्यवस्थापन पक्षले झारा टार्ने, अलमल्याउने काम भएको बताए। ‘वार्ता कमिटी गठन भएको छ तर, कर्मचारीको आन्दोलन भोलि पनि जारी हुन्छ’ भट्टराईले भने। कर्मचारीको स्वास्थ्यप्रति व्यवस्थापन गैरजिम्मेवार भएको उनले बताए। ‘पर्याप्त हावा छैन, केही कर्मचारीलाई साह्रै सकस छ।’
प्राधिकरणमा १ सय १० दरबन्दी स्वीकृति भएकोमा ९७ जना कर्मचारी छन्। त्यसमध्ये ५३ जना युनियनमा आबद्ध छन्। युनियनले १५ दिनअघि नै व्यवस्थापनको ध्यानाकर्षण गराएको थियो। गत वैशाखमा कार्यालय जमलमा सरेको थियो। ‘सेवासुविधा माग्ने कर्मचारीको अधिकार नै हो,’ भट्टराई भन्छन्,’ मुख्यतः नियमनकारी निकाय उचित स्थानमा छैन।’
युनियनले सोमबार दिउँसो प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सोमबार चेतावनीसहितको पत्र दिएको थियो। शुक्रबारसम्म माग सम्बोधन नभए थप आन्दोलन गर्ने युनियनले चेतावनी दिएको छ।
युनियनले सोमबार प्राधिकरणका अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिएको थियो। आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्य काममा नजाने चेतावनी दिएका छन्।
श्रम नियमावली २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्ने व्यवस्था छ। युनियनले गत माघ महिनामा बुझाएको मागपत्र पनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्। ऋण सापटी सुविधालाई बिमासँग आवद्ध गर्नुपर्ने कर्मचारीले माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्